लागूऔषधसहित दुई युवक प्रहरी नियन्त्रणमा
मेराज सलमानी

नेपालगन्ज । बाँके प्रहरीले लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित दुई जना युवकलाई पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका–१७ चौलिका चोकमा खटिएको जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित पिलिभितका २६ वर्षीय मोहम्मद नाजिम कुरैशी र रुकुमपश्चिम, खलङ्गा नगरपालिका-२ का २५ वर्षीय सुरेश खड्का रहेका छन् । उनीहरूको साथबाट ४ ग्राम ८६० मिलिग्राम तौल भएको ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनामाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ । प्रहरीले नागरिकलाई पनि लागूऔषधका गतिविधि देखे वा शंका लागेमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी दिन आग्रह गरेको छ ।





