ब्राउन सुगर सहित एक युवक पक्राउ

मेराज सल्मानी
नेपालगञ्ज। प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार साउन २७ गते नेपालगञ्जउपमहानगरपालिका–१५ जमुनाहाबाट इलाका प्रहरी कार्यालय जमुनाहा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ निवासी सूर्य बहादुर रावतलाई पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट ११ ग्राम ८३० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ। साथै क.प्र.०२–००३ प ४३७५ नम्बरको स्कुटर र दुई थान मोबाइल फोन समेत नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका रावतविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा बाँके जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।





