लागुऔषध कारोबारीको कनेक्सन रुपैडिहा देखि काठमाडौं सम्म

काठमाडौं। लागू औषध नियन्त्रण ब्युरो, कोटेश्वरले गोली प्रहार गरी तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।
ब्युरोका अनुसार काठमाडौं महानगरपालिका–३२, टेकु देवानपुल नजिक भारतको रुपैडिहा बाट उपत्यका काठमाडौंमा ल्याइएको लागू औषध ट्यापेन्टाडोल नियन्त्रणमा लिने क्रममा प्रहरी टोलीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको थियो।
प्रहरीका अनुसार चेतावनीस्वरूप हवाई फायर गर्दा पनि नरोकिएपछि दाहिने खुट्टाको घुंडामा दुई राउण्ड गोली प्रहार गरिएको थियो। गोली लागेर भारत उत्तर प्रदेश बहराईच जिल्ला रुपैडियाका २५ वर्षीय राज सोनी घाइते भएका छन्। उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ।
सोही घटनामा नेपालगञ्ज उपमहानगरपालिका–१७ परसपुरका १९ वर्षीय निखिल सोनी र सुर्खेत पञ्चपुरी वावियाचैर गाउँ पालिका-६ की १९ वर्षीय शोफिया मगर समेत पक्राउ परेका छन्। पक्राउ परेकाहरूको साथबाट ट्यापेन्टाडोल २४,७०० क्याप्सुल र ३ थान मोबाइल फोन बरामद गरिएको ब्युरोले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको लागू औषध नियन्त्रण ब्युरोले जनाएको छ।लागू ओैषध कारोबारको कनेक्सन भारतको रुपैडिहा देखि काठमाडौं सम्म रहेको प्रहरी को प्रारम्भिक अनुसन्धान ले देखाएको छ।





