भारतबाट ल्याइने चामलमा कडाइ, स्थानीय सर्वसाधारण समस्यामा
मेराज सल्मानी
नेपालगन्ज। भारतबाट घरायसी प्रयोजनका लागि ल्याइने चामल, तोरीको तेल, तरकारी, फलफूल, आँप लगायतका खाद्यवस्तुमा भन्सार कार्यालयले कडाइ गरेपछि बाँकेका सीमावर्ती क्षेत्रका स्थानीयवासी समस्यामा परेका छन्।
स्थानीयका अनुसार दैनिक उपभोगका लागि थोरै परिमाणमा ल्याइने खाद्यवस्तुसमेत भन्सार नाकाबाट प्रवेश गर्न नदिँदा उनीहरूलाई सास्ती भएको छ। विशेषगरी भारतसँग जोडिएका क्षेत्रका बासिन्दा प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले चामलको हकमा आवश्यक प्रक्रिया पूरा गरेर मात्र ल्याउन सकिने बताए। उनका अनुसार चामल आयात गर्न सम्बन्धित निकायबाट खाद्य गुणस्तर परीक्षण (फुड टेस्ट) गराई आवश्यक अनुमति लिएपछि मात्रै भित्र्याउन मिल्ने व्यवस्था रहेको छ।
भन्सारको कडाइका कारण दैनिक उपभोगका सामग्री ल्याउन कठिन भएको भन्दै स्थानीयले सामान्य घरायसी प्रयोजनका लागि ल्याइने वस्तुमा सहजीकरण गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।





