लागूऔषध मुद्दामा थप एक जना पक्राउ
मेराज सल्मानी
नेपालगन्ज। बाँकेमा लागूऔषध सम्बन्धी मुद्दामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँटका इन्चार्ज प्रहरी निरीक्षक केशव केसीका अनुसार पक्राउ पर्नेमा खजुरा गाउँपालिका–७ निवासी ४५ वर्षीय रिजवान खाँ रहेका छन्।
प्रहरीका अनुसार वैशाख ९ गते गोप्य सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले खजुरा गाउँपालिका क्षेत्रमा रहेको एक घरमा खानतलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला पारेको थियो। परीक्षणका क्रममा उक्त पदार्थ २७५ ग्राम ब्राउनसुगर रहेको पुष्टि भएपछि खजुरा गाउँपालिका–५ निवासी २६ वर्षीय अजिजुल रहमान खान पक्राउ परेका थिए।
प्रहरीले दिएको जानकारी अनुसार पक्राउ परेका अजिजुल रहमान खानको बयानका आधारमा थप अनुसन्धान अगाडि बढाउँदै रिजवान खाँलाई पक्राउ गरिएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। साथै लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि प्रहरीको निगरानी र कारबाहीलाई अझ प्रभावकारी बनाइने बताएको छ।





