नेपाल सिमा क्षेत्रमा भारतीय सुरक्षाकर्मी प्रवेश गरेपछि स्थानीयको विरोध
मेराज सल्मानी
रूपन्देही। अन्तर्राष्ट्रिय कानुन तथा सीमा मर्यादाविपरीत पश्चिम नवलपरासीको सुस्ता क्षेत्रस्थित नेपाल–भारत सीमामा भारतीय सीमा सुरक्षा बल (SSB) का सुरक्षाकर्मी हतियारसहित खोला तरेर नेपाली भूभागमा प्रवेश गरेको आरोप लगाउँदै स्थानीयवासीले विरोध जनाएका छन्।
स्थानीयवासीका अनुसार भारतीय सुरक्षाकर्मीहरू नेपाली सीमाभित्र गस्ती गर्दै आएको देखिएपछि उनीहरूलाई प्रवेशको कारणबारे सोधपुछ गरिएको थियो। तर सुरक्षाकर्मीहरूले स्पष्ट जवाफ नदिई अटेरी गरेपछि स्थानीयहरू एकजुट भई प्रतिकार मा उत्रिएका थिए।
स्थानीयको प्रतिकारका कारण केही समय तनावपूर्ण अवस्था सिर्जना भएको बताइएको छ। स्थानीयको चर्को विरोधपछि भारतीय सुरक्षाकर्मीहरू फर्किएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
सुस्ता क्षेत्र लामो समयदेखि सीमा विवादको संवेदनशील क्षेत्रका रूपमा परिचित छ। यसअघि पनि भारतीय पक्षले नेपाली भूभागमा निर्माणाधीन तटबन्ध तथा अन्य विकास निर्माणका काममा अवरोध पुर्याउने प्रयास गरेको भन्दै स्थानीयवासीले पटक–पटक गुनासो गर्दै आएका छन्।
घटनाबारे सम्बन्धित सुरक्षा निकाय तथा प्रशासनले औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेका छैनन्। स्थानीयवासीले सीमा सुरक्षामा थप सतर्कता अपनाउन तथा यस्ता घटनाबारे नेपाल सरकार र सम्बन्धित निकायले कूटनीतिक पहल गर्नुपर्ने माग गरेका छन्।





