सडक सुरक्षा र गुरुयोजनाअनुसार आयोजना छनोट गर्ने 

लुम्बिनी प्रदेशका भौतिक मन्त्री खत्रीको पहिलो निर्णय

देउखुरी । लुम्बिनी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले पदबहालीसँगै सडक सुरक्षा तथा प्रादेशिक सडक सञ्जाल गुरुयोजना लाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०८३\८४ का कार्यक्रम तथा बजेट तर्जुमा गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।

मन्त्रालयमा पदबहालीपछि मन्त्री खत्रीले सडक दुर्घटना न्यूनीकरण, सडक सुरक्षाको सुदृढीकरण तथा योजनाबद्ध पूर्वाधार विकासलाई केन्द्रमा राखेर प्रस्तुत गरिएको प्रस्ताव स्वीकृत गर्नुभएको हो ।

निर्णयअनुसार सडक पूर्वाधार विकास कार्यालयमार्फत दुर्घटना सम्भावित क्षेत्र (ब्ल्याक स्पट) सुधार, क्र्यास ब्यारियर निर्माणलगायतका सडक सुरक्षा संरचना निर्माण गरिनेछ । त्यसैगरी यातायात पूर्वाधार निर्देशनालयमार्फत विशेषज्ञ टोलीबाट सडक सुरक्षा परीक्षण (रोड सेफ्टी अडिट) सञ्चालन गरी सडकका प्राविधिक कमजोरी पहिचान तथा सुधारका कार्यक्रम अघि बढाइनेछ ।

मन्त्री खत्रीले आगामी आर्थिक वर्षको वार्षिक कार्यक्रम तय गर्दा सडक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्ने तथा प्रादेशिक सडक सञ्जाल गुरुयोजना मा समावेश भएका सडक तथा फागुनसम्म कायम आयोजनालाई आधार मानेर कार्यक्रम छनोट गर्ने निर्णय गर्नुभएको छ ।

मन्त्रालयका अनुसार यस निर्णयले टुक्रे तथा न्यून प्रतिफल दिने आयोजनाको संख्या घटाई बजेटको प्रभावकारिता बढाउने, सडक पूर्वाधार विकासलाई योजनाबद्ध बनाउने तथा यात्रु सुरक्षालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button