सडक सुरक्षा सप्ताह अन्तर्गत बाँकेमा ला.प.से. परीक्षण, १४ जना पोजेटिभ
मेराज सल्मानी
नेपालगन्ज। “विश्व सडक सुरक्षा सप्ताह २०८३” अन्तर्गत बाँकेको नेपालगन्जउपमहानगरपालिका–२० राँझा चोकमा सवारी चालक तथा यात्रुहरूको लागू पदार्थ सेवन (ला.प.से.) परीक्षण गरिएको छ। आज साँझ ५ बजेदेखि राति ८ बजेसम्म सञ्चालन गरिएको संयुक्त अभियानमा इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर को टोली सहभागी भएको थियो।
ईलाका प्रहरी कार्यालय कोहलपुरका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक चक्र बहादुर डमरपालको कमाण्डमा १६ जना प्रहरी तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरका कार्यालय प्रमुख प्रहरी निरीक्षक कनक बहादुर शाही समेतको टोलीले सार्वजनिक तथा निजी सवारी चालक र सवारीमा सवार व्यक्तिहरूको ला.प.से. परीक्षण गरेको जनाएको छ।
प्रहरीका अनुसार चेकजाँचका क्रममा २३ जना चालक तथा यात्रुहरूको परीक्षण गरिएकोमा १४ जना पोजेटिभ देखिएका छन्। पोजेटिभ देखिनेमा अटो रिक्सा चालक ६ जना, मोटरसाइकल चालक १ जना, स्कुटर चालक २ जना, ईभी भ्यान चालक १ जना, बस चालक १ जना तथा सवारीमा सवार ३ जना रहेका छन्।
ला.प.से. पोजेटिभ देखिएका सबैलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर को नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।





