ई-रिक्साका कारण दुर्घटनाको जोखिम बढ्दो

मेराज सल्मानी
बाँके। नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा सञ्चालन भइरहेका ई-रिक्साहरूले यात्रु बोक्ने सवारी साधनमा जोखिमपूर्ण मालसामान ओसारपसार गर्न थालेपछि दुर्घटनाको जोखिम बढ्दै गएको छ।
विशेषगरी ई-रिक्सामा फलामे छड (डण्डी), पाइप, टिनका जस्ता पाता, ग्रिल बनाउने सरिया लगायतका लामो तथा भारी सामग्री जथाभावी ढुवानी गर्दा सडक प्रयोगकर्ताहरू जोखिममा परेका छन्।
केही ई-रिक्साले सवारी साधनको दायाँ–बायाँ धेरै बाहिर निस्किने गरी सामान बोकेर मुख्य सडकमा गुड्ने गरेका छन्, जसका कारण मोटरसाइकल, साइकल तथा पैदल यात्रु दुर्घटनामा पर्न सक्ने खतरा बढेको स्थानीयले बताएका छन्।
ई-रिक्सामा अत्यधिक लामो फलामे पाइप तथा ठूला सामग्री असुरक्षित ढंगले लोड गरिएको देखिन्छ। यस्ता सामग्रीले सडकमा सन्तुलन बिग्रिनुका साथै अचानक ब्रेक लगाउँदा वा मोडिने क्रममा दुर्घटना निम्त्याउन सक्ने ट्राफिक सचेतकहरू बताउँछन्।
स्थानीयवासीहरूले सम्बन्धित निकाय तथा ट्राफिक प्रहरीले यस्ता जोखिमपूर्ण ढुवानीमाथि निगरानी बढाई आवश्यक कारबाही गर्नुपर्ने माग गरेका छन्। साथै ई-रिक्सा चालकहरूलाई पनि क्षमता भन्दा बढी तथा असुरक्षित सामान नबोक्न आग्रह गरिएको छ।





