सशस्त्र प्रहरीको सक्रियतामा ठूलो मात्रामा लागूऔषध अफिम बरामद

मेराज सल्मानी

नेपालगन्ज। बाँके जिल्लाको सीमा सुरक्षालाई थप सुदृढ बनाउने अभियानअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी, बाँकेको सक्रिय परिचालन तथा गणपति नेतृत्वको विशेष निगरानीमा ठूलो मात्रामा लागूऔषध बरामद गरिएको छ।सशस्त्र प्रहरी बल नेपाल नं. ३० गणका गणपति (गण प्रमुख) को प्रत्यक्ष निर्देशन तथा सक्रियतामा सीमा क्षेत्रमा चोरी–तस्करी, लागूऔषध ओसारपसार तथा अन्य अवैध गतिविधि नियन्त्रणका लागि विगत केही दिनदेखि विशेष सुरक्षा अभियान सञ्चालन हुँदै आएको छ।

सोही अभियान अन्तर्गत कालाबन्जरबाट खटिएको सशस्त्र प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१५ पिपराहवा सीमा क्षेत्रमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा अवैध लागूऔषध बरामद गर्न सफल भएको हो।

टोलीले करिब ५.५ किलोग्राम अफिमजस्तो देखिने पदार्थ तथा ५ ग्राम चरेसजस्तो देखिने कालो पदार्थ बरामद गरेको जनाएको छ। साथै, उक्त लागूऔषधसहित संलग्न एक जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ।

सीमा सुरक्षालाई प्रभावकारी, प्रविधिमैत्री तथा परिणाममुखी बनाउने उद्देश्यका साथ सशस्त्र प्रहरी बल नेपाल नं. ३० गणले गणपति नेतृत्वमा विशेष सक्रियता देखाउँदै आएको छ। पछिल्ला दिनहरूमा चोरी–तस्करी नियन्त्रण, लागूऔषध बरामद तथा सीमा अपराध न्यूनीकरणमा हासिल भएका उपलब्धिहरूले संगठनको प्रतिबद्धता र कार्यकुशलता थप पुष्टि गरेका छन्।

सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा हुने सबै प्रकारका अवैध गतिविधि नियन्त्रण गर्दै शान्ति, सुरक्षा तथा कानूनी शासन कायम गर्न यस्ता अभियानलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिइने जनाएको छ।शसस्त्र प्रहरीले पक्राउ गरेका व्यक्तिको नाम गोप्य राखेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button