बाँकेका पाँच वडामा निषेधाज्ञा जारी
मूर्ति विसर्जनका क्रममा भएकाे झडपका दोषीलाइ कारवाही गर्ने सहमति

नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज, डुडुवा र नरैनापुरकाे केही स्थानमा निषेधाज्ञा आदेश जारी गरेको छ । शुक्रवार नेपालगन्जमा दुर्गा मूर्ति विसर्जनका क्रममा भएकाे विवादलाइ लिएर शनिवार बाँके जिल्लाको डुडुवा गाउँपालिका वडा नम्बर ६ र नेपालगन्ज उपमहानगरपालिका १४, १५ र २३ तथा नरैनापुरकाे वडा नम्बर ५ मा हिन्दु र मुस्लिम समुदायबीच झडप र आगजनीका घटनापछि जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा जारी गरेको हाे।

विजयादशमीको अवसरमा दुर्गा मूर्ति विसर्जनका क्रममा भएकाे विवादलाई लिएर शनिवार डुडुवा गाउँपालिका वडा नं. ६, हिरमिनिया चाेकमा हिन्दु युवाहरूले केही घुम्ती पसल र एउटा पुरानो मोटरसाइकलमा आगजनी गरेका थिए। आगजनी पश्त्यचात सुब्बापुरवा क्षेत्रमा दुई समुदायबीच झडप भएको पृष्ठभूमिमा सामाजिक सद्भावमा खलल पुग्ने र अशान्ति फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को प्रावधानअनुसार निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएकाे छ ।
शान्ति र सुव्यवस्था कायम राख्न निषेधाज्ञा जारी गर्नुपरेको बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताउनु भयाे । उहाँले सम्पूर्ण नागरिकलाई धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न र कानूनको पालना गर्न आग्रह गर्नुभएकाे छ । स्थानीय प्रशासनले सुरक्षा व्यवस्थालाई कडा बनाउँदै स्थिति नियन्त्रणमा लिन व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ। घटनाको थप अनुसन्धान र शान्ति स्थापनाका लागि स्थानीय नेतृत्व र समुदायसँग समन्वय भइरहेको प्रशासनले जनाएकाे छ ।
जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा वा सम्मेलन गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। यो आदेश उल्लंघन गरेमा सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानून अनुसार कारबाही गर्ने चेतावनी दिइएको छ ।
निषेधाज्ञा मिति २०८२ असोज १८ गते साँझ ७ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुनेछ ।
निषेधाज्ञा लागू हुने क्षेत्रहरूमा डुडुवा गाउँपालिका वडा नं. ६ को सम्पूर्ण क्षेत्र, नेपालगन्ज उपमहानगरपालिका वडा नं. १४ र १५ को सुइया पिप्रहवा, वडा नं. २३ को भजिपुरवा, जंगलिपुरवा, लोहरनपुरवा र नरैनापुर गाउँपालिका वडा नं. ५ को सम्पूर्ण क्षेत्र समावेश रहेका छन्।
यसैबिच शुक्रवार नेपालगन्जमा दुर्गा मूर्ति विसर्जनका क्रममा भएको झडप र उच्छृंखल गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कानुन बमोजिम कारवाही गर्ने सहमति भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेमा शनिबार भएको सर्वपक्षीय छलफलले घटनाको छानबिन गरी दोषीहरूलाई पहिचान गरेर कारवाही गर्ने निर्णय गरेको छ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाउने व्यक्तिहरूलाई निगरानी गरी साइबर अपराधअन्तर्गत कारवाही गरिने बताउनु भएकाे छ । बैठकमा प्रहरी प्रशासन, धार्मिक अगुवा, नागरिक समाजका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।





