महिला हिंसा विरुद्ध धार्मिक अगुवा र सरोकारवालाहरुबीच संवाद कार्यक्रम सम्पन्न
नेपालगन्ज । महिला हिंसा विरुद्ध अन्तरधार्मिक राष्ट्रिय सञ्जाल (निरन) नेपालले धार्मिक अगुवा र सरोकारवालाहरुबीच संवाद कार्यक्रम सम्पन्न गरेको छ । आइतबार सञ्जालले परम्परागत हानिकारक अभ्यासहरु न्यूनीकरणका लागि विभिन्न धर्मका धर्मगुरुहरू र सरोकारवाला निकायको भुमिका विषयमा जानकी गाउँपालिकाको सभाहलमा संवाद कार्यक्रम सम्पन्न गरेको हो ।
महिला हिंसा विरुद्ध अन्तरधार्मिक राष्ट्रिय सञ्जाल नेपालको आयोजना र वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा परम्परागत हानिकारक अभ्यासहरु न्यूनीकरणका लागि धार्मिक अगुवा र सरोकारवाला निकायको भुमिका विषयमा संवाद कार्यक्रम गरेका हुन ।
जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँको प्रमुख अतिथि तथा विशिष्ट अतिथिका रूपमा महिला हिंसा विरुद्ध अन्तरधार्मिक राष्ट्रिय सञ्जाल (निरन) नेपालका केन्द्रिय अध्यक्ष ईशुजंग कार्की रहेका थिए ।
कार्यक्रममा मुस्लिम तर्फका धर्मगुरु यार मोहम्मद सल्मानी, हिन्दुधर्मका तर्फबाट माधव रिजाल र कृश्चियन धर्मका अगुवा चन्द्रवीर सुनार लगायतका अगुवाहरुले संयुक्त प्रार्थना गरेका थिए । संवाद कार्यक्रममा करीब आधा दर्जन वक्ताहरुले धर्महरु विच सदभाव सहिषुणता आवश्यक रहेको बताउँदै विभिन्न समुदायमा दाइजो प्रथा र महिला हिंसा अन्त्य गरेर अगाडी बढ्न वक्ताहरूले जिकिर गरे ।
महिला हिंसा विरुद्ध अन्तरधार्मिक राष्ट्रिय सञ्जाल नेपालका जानकी गापा.का अध्यक्ष जगदम्वा प्रसाद पाठकको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य महिला हिंसा विरुद्ध अन्तरधार्मिक राष्ट्रिय सञ्जाल नेपालका जिल्ला अध्यक्ष ओबैदुर-रहमान खानले दिएका थिए । भने कार्यक्रम सञ्चालन निरन नेपालका कार्यक्रम संयोजक अब्दुल गफ्फार खानले गरेका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, जानकी गापा. वडा नम्बर ५ का अध्यक्ष टिकानाथ यादव, योजना शाखा अधिकृत शोभा पौडेल, महिला तथा बालबालिका जानकी शाखा अधिकृत कलपना गाहामगर, फातिमा फाउन्डेसन नेपालका अध्यक्ष मैमुना सिद्दिकी, मिलाप संस्थाका कार्यक्रम अधिकृत प्रेमा रोकाया, इलाका प्रहरी कार्यालय खजुरा खुर्दका इन्चार्ज खगेन्द्र श्रेष्ठ, विभिन्न धर्मका धर्मगुरु लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सञ्जालले हाल देशभरीका १९ जिल्लामा काम गर्दै आएको र यस आर्थिक वर्षमा २५ जिल्लामा विस्तार गर्न लागेको जनाइएको छ ।





