स्रोत नखुलेको लाखौँ रुपैयाँसहित एक जना पक्राउ

मेराज सलमानी

बाँके । प्रहरीले स्रोत नखुलेको लाखौँ रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं ११ त्रिभुवन चोक निवासी सुनिलकुमार बनियाँ रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले बनियाँको साथबाट भारतीय रुपैयाँ ३ लाख ७२ हजार ७ सय र नेपाली रुपैयाँ १ लाख बरामद गरेको हो।

बरामद रकममध्ये भारतीय ५ सय दरका ६ सय ४५ थान, १ सय दरका ५ सय २ थान तथा नेपाली १ हजार दरका १ सय थान नोट रहेका छन्।

त्रिभुवन चोकस्थित कुमार जनरल स्टोरका सञ्चालकसमेत रहेका बनियाँले स्रोत नखुलेको रकमको कारोबार गर्दै आएको सूचनापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दीपक पातलीले बरामद रकमसहित पक्राउ परेका बनियाँलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, कोहलपुर पठाइएको जानकारी दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button