राष्ट्रिय जनमतका नेता शेष पक्राउ

जिल्ला प्रहरी कार्यालय बाँकेले आज शुक्रबार राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेषलाई पक्राउ गरेको छ ।
नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाई बालुवाटार काठमाडौँको जाहिरीले जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता रहेको हुण्डी सम्बन्धी कारोबार मुद्दाको अनुसन्धान गर्नका लागि डुडुवा ६ सुब्बापुर्वा बस्ने शेखलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता दिपक पातलीले जानकारी दिनुभयो ।

पक्राउ परेका शेखको खाताबाट ४ करोड ९२ लाख ८४ हजार २९६ रुपैयाँ बराबरको शंकास्पद कारोबार भएको र नगद रुपैयाँ जम्मा हुने बित्तिकै विद्युतीय माध्यम मार्फत विभिन्न व्यक्ति तथा संस्थाहरूमा आफै संचालकका रुपमा संलग्न भएर रकम रकमान्तर भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले कोहलपुर १४ बस्ने विष्णु खटिक समेत रहेको मुद्दाको अनुसन्धानका क्रममा दुवै स्थानीय तहलाई पत्र लेखेर पारिवारिक विवरण समेत माग गरेको जानकारीमा आएको छ ।
दुवैजनाको कारोबार हेर्दा ठुलो रकमको र अस्वभाविक कारोबार देखिएकोले सम्पत्ति शुद्धिकरण ( मनि लाउण्ड्ररिङग ) भए नभएको बुझ्न एकाघर परिवारको विवरण प्रहरीले उपलब्ध गराइ सहयोग गर्न पत्र मार्फत अनुरोध गरेको थियो।
राष्ट्रिय जनमत पार्टीका नेता शेष पक्राउ परेसँगै मुद्दाको विस्तृत अनुसन्धान अगाडि बढ्ने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।





