जानकीमा राष्ट्रपति रनिङ शिल्ड आजबाट सुरु
नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ मानपुरको श्री नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालयको खेलमैदानमा आजबाट प्रतियोगिता शुरु भएको छ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूलमंत्रसहित राष्ट्रपति रनिङ शिल्ड छनौट तथा पालिका स्तरीय अन्तर विद्यालय आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता बुधबारदेखि शुरु भएको हो ।

जानकी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा मानपुरको आयोजनामा पुष १६ गतेदेखि तीन दिनसम्म चल्ने प्रतियोगिताको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना र जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले संयुक्त रूपमा पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियोे ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले खेलकुदलाई केवल प्रतिस्पर्धा होइन, जीवनको पाठशाला भएको उल्लेख गर्दै भन्नुभयो, “खेलकुदले अनुशासन, नेतृत्व र स्वस्थ जीवनशैली सिकाउँछ । विद्यालय तहबाटै खेलकुदलाई प्रोत्साहन गर्न सके मुलुकले सक्षम र जिम्मेवार नागरिक पाउँछ ।” उहाँले प्रदेश सरकारले विद्यालयस्तरको खेलकुद पूर्वाधार र प्रतिभा विकासमा निरन्तर लगानी गरिरहेको जनाउँदै जानकी गाउँपालिकाको कन्या आधारभूत विद्यालयको भौतिक संरचना तथा रंगशाला निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
कार्यक्रमका गाउँपालिकाका अध्यक्ष खाँले शिक्षा र खेलकुदलाई पालिकाको साझा प्राथमिकता रहेको स्पष्ट पार्नुभयो । “खेलकुदमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा जानकी गाउँपालिका प्रतिबद्ध छ,” उहाँले भन्नुभयो, “यस्ता प्रतियोगिताले ग्रामीण प्रतिभालाई पहिचान दिलाउने मात्र होइन, विद्यार्थीमा आत्मविश्वास र नेतृत्व क्षमता पनि विकास गर्छ ।”
उद्घाटनमा शिक्षा युवा तथा खेलकुद शाखा मानपुरकि प्रमुख कृष्णा कुमारी भण्डारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा सभाध्यक्ष खाँ र मन्त्री तिमिल्सिनालाई विभिन्न विद्यालयका विद्यार्थीहरुले मार्चपास गर्दै सलामी अर्पण गरेका थिए ।
जानकी गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको प्रतियोगितामा पालिका अन्तर्गतका रहेका ४५ वटा विद्यालय मध्ये ३५ वटा विद्यालयले सहभागीता जनाएको शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत एवम् सचिवालयका संयोजक कृष्णा कुमारी भण्डारी बताउनु भयो । उहाँले भन्नुभयो भोलिबल, कबड्डी, दौड, हाइजम्प लगायतका खेलहरू तीन दिनसम्म सञ्चालन हुनेछन् ।
सामाजिक विकास शाखाका संयोजक राम अचल धोबीले स्वागत गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति ज्ञानेन्द्र चौधरी, जानकी गाउँपालिकाकी उपाध्यक्ष राम प्यारी यादव, प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्याय, सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण खत्री, वडा नं. ५ का अध्यक्ष तथा पालिकाका प्रवक्ता टिकानाथ यादव, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, वडा नं. १ का अध्यक्ष मोहम्मद रजा राई, वडा नं. ३ का अध्यक्ष राज कुमार बर्मा, वडा नं. ४ का अध्यक्ष रमेश कुमार बर्मा, कार्यपालिका सदस्य राजेन्द्र सिंह, जिन्सी शाखा प्रमुख राजु यादव, आईटी अधिकृत विकास जिसी, कार्यपालिका सदस्य, सुरक्षाकर्मी, पत्रकार, शाखा प्रमुखहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक रमेश बिसीले गर्नुभएको थियो ।





