कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी जमुनाहा नाकाबाट पक्राउ

मेराज सल्मानी
बाँके । कर्तव्य ज्यान मुद्दामा संलग्न रहेका फरार प्रतिवादीलाई प्रहरीले नेपाल–भारत सीमास्थित जमुनाहा नाकाबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसारनेपालगन्जउपमहानगरपालिका वडा नं. २१ गंगापुरमा गत २०८०/१२/१७ गते २२ वर्षीय इन्तजार भन्ने मोहम्मद अरबी खाँ आफ्नै घरबाट साँझ २३:०० बजेदेखि सम्पर्कविहीन भएका थिए।
भोलिपल्ट बिहान करिब ९:३० बजे मृतकको घरदेखि करिब ५०० मिटर दक्षिणतर्फ गंगापुरदेखि तेलियनपुर जाने कच्ची सडकखण्डमा उनको शव फेला परेको थियो। शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा नेपालगन्ज उप–महानगरपालिका वडा नं. २१ (साबिक पुरैना गाविस वडा नं. ७) बस्ने ५३ वर्षीय अफजल पठान लाई विशेष सूचनाका आधारमा २०८२ फागुन ५ गते राति १० बजे जमुनाहा सीमाबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार वारदातपछि उनी भारततर्फ लुकिछिपी बस्दै आएका थिए र निर्वाचनको अवसर पारेर नेपाल प्रवेश गर्ने क्रममा पक्राउ परेका हुन्।
अनुसन्धानका क्रममा घटनास्थल, प्राविधिक पक्ष तथा संकलित सूचनाका आधारमा प्रतिवादीको संलग्नता खुलेको प्रहरीले जनाएको छ। साथै, प्रतिवादीको अन्य घटनामा समेत संलग्नता रहेको विषयमा थप अनुसन्धान भइरहेको छ।
यसअघि २०६९/०३/२७ गते हफिजुल्ला खाँको हत्या तथा २०७२/०५/१९ गते रियाज खाँको कर्तव्य ज्यान घटनामा समेत उनको संलग्नता रहेको भनी जाहेरी दर्ता भई अनुसन्धान भइरहेको बताइएको छ।
प्रहरीले प्रतिवादीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ अन्तर्गत ज्यान सम्बन्धी कसूरमा बाँके जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीले सबै घटनाको थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।





