रमजान र होली लक्षित गर्दै बाँके प्रशासनका सात बुँदे निर्णय सार्वजनिक

मेराज सल्मानी
बाँके । जिल्ला प्रशासन कार्यालय, बाँके ले रमजान महिना, फागु पूर्णिमा (होली) तथा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सात बुँदे निर्णय सार्वजनिक गरेको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेले जारी सूचनामा इस्लाम धर्मावलम्बीहरूको रमजान महिनाको अवसरमा शुभकामना व्यक्त गरिएको छ भने हिन्दु समुदायले मनाउने होली पर्वको समेत शुभकामना दिइएको छ।
प्रशासनले यस वर्ष तराई क्षेत्रमा मनाइने होली पर्व निर्वाचनको मौन अवधिसँग जोडिन सक्ने भएकाले घर–परिवार तथा आफन्तजनबीच मर्यादित रूपमा मनाउन आग्रह गरेको छ। साथै पर्वका अवसरमा आयोजना हुने कार्यक्रम तथा सन्देश प्रवाह गर्दा ध्वनि प्रदूषण नगर्न र सामाजिक सद्भाव खल्बलिने गतिविधि नगर्न अनुरोध गरिएको छ।
फागुन महिनामा हिन्दु परम्पराअनुसार हुने वैवाहिक, व्रतबन्धलगायतका कार्यक्रमहरूमा समेत अत्यधिक ध्वनि नगर्न स्थानीय प्रशासनले आह्वान गरेको छ।
त्यस्तै, प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगबाट जारी आचारसंहिता पूर्णरूपमा पालना गर्न सबै राजनीतिक दल, उम्मेदवार तथा नागरिकलाई आग्रह गरिएको छ।
जिल्लाको विशेषतालाई दृष्टिगत गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबै सरोकारवाला निकाय, स्थानीय तह तथा समुदायलाई सहकार्य गर्न प्रशासनले अनुरोध गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button