तीन दिनका लागि जमुनाह सिमानाका बन्द हुने

नेपालगन्ज । नेपाल-भारतसँग जोडिएको बाँकेको ६५ किलोमीटर सिमानाका तीन दिनसम्म पुर्ण रूपमा बन्द हुने भएको छ ।
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण सम्पन्न गराउन भारतसँग जोडिएको जमुनाह नाकासहित बाँके जिल्लाका सम्पूर्ण सिमाना तीन दिन पूर्ण रूपमा बन्द गरिने भएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले आज एक सूचना जारी गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउन नेपाल-भारत जमुनाह नाकालगायत जिल्लाका सबै सहायक नाकासमेत ७२ घण्टा बन्द गरिने निर्णय भएको जनाएको छ ।
हालै नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीको बैठकमा भएको सहमति अनुसार फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ सम्मका लागि नेपाल-भारत सीमानाका पूर्ण रूपमा बन्द गरिने बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिनुभयो ।






