अव्यवस्थित बसोबासीको समस्या समाधानमा बाधक बन्यो डुडुवा गाउँपालिका : इश्तियाक राई
डुडुवा। नेकपा एमालेबाट बाँके निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राई हरेक मतदाताका घर-घरै पुगेर आफ्नो पक्षमा समर्थन जुटाउन अग्रसर हुनुभएको छ। मतदाताहरूसम्म पुगेर उहाँहरूका समस्या, आवश्यकता र चाहनाहरू सुन्न उम्मेदवार राई केही दिनयता घरदैलोमा सक्रिय रहनुभएको छ।
बिहानैदेखि घरदैलोमा निस्कनुभएका राईले आज नेपालगन्जको वडा नं १५ मा पर्ने सुइया पिप्रहवा, वडा नं २१ मा पर्ने झगरपुर, मोहनपुर, गंगारामपुर्वा तथा डुडुवा गाउँपालिका वडा नं २ मा पर्ने नयाँ बस्ती, बाबाकुटी, रामनगर पाझा, वडा नं ३ को उचवामा मतदातासँग साक्षात्कार गर्नुभयो। त्यस्तै वहाँले डुडुवाको वडा नं ४ अम्रहवामा आयोजित कोण सभामा आफ्नो भनाई राख्नुभएको थियो।
उम्मेदवार राईले यो निर्वाचनमा विकासमा पछि परेका ठाउँहरूको स्थानीय समस्या र आवश्यकतालाई बुझ्न महत्वका साथ मतदाताहरूसँग छलफल गरिरहनुभएको छ। नीति-नियम र कानुनी सुधारमार्फत सम्बोधन गर्न सकिने स्थानीय सवालहरूबारे राईले मतदाताहरूसँग सुझाव लिइरहनुभएको छ।
डुडुवाका धेरै बस्तीहरूमा नदी कटान र डुबानले निम्त्याएको समस्या गम्भीर छ। सयौं घरपरिवार बाढीले विस्थापित भएर झोरा जंगल क्षेत्रमा अस्थायी बसोबास गरिरहेका छन्। प्रशासनले डुबानबाट जोगाउन झोरा जंगल क्षेत्रमा स्थानान्तरण गरेपछि उनीहरू वर्षौंदेखि त्यहाँ बसिरहेका छन्। तर नेपाल सरकारले उनीहरूबारे निर्णय नगरीदिँदा यस क्षेत्रमा विकासका कामहरू हुन सकेक छैनन्।
जग्गाको स्वामित्वको टुंगो नलाग्दा डुडुवा क्षेत्रमा सडक, पुल-पुलेसा, खानेपानी, शिक्षा-स्वास्थ्य लगायत क्षेत्रमा आधारभूत काम गर्न पनि सरकारी अनुमति मिल्दैन। त्यसैले यस क्षेत्रको जनजीवन तुलनात्मकरूपमा विकासको लाभ लिनबाट वञ्चित रहँदै आएको छ। उम्मेदवार राईले यहाँका मतदाताहरूका समस्या सम्बोधन र आवश्यकता पूरा गर्ने प्रतिबद्धता जनाउँदै आउनुभएको छ।
वडा नं ४ मा आयोजित कोण सभामा उम्मेदवार राईले डुडुवा गाउँपालिकाले असहयोग गर्दा यस क्षेत्रका सुकुम्बासी, भूमिहिन र अव्यवस्थित बसोबासीको समस्या अल्झिएको आरोप लगाउनुभयो। वहाँले निर्वाचनपछि सुकुम्बासी, भूमिहिनहरूको समस्या समाधान हुने आश्वासन दिनुभयो।
यता नेपालगन्ज-१५ सुइया, पिप्रहवाका बासिन्दाले सडक र ढल निकासका लागि योजनाहरू ल्याउन उम्मेदवार राईलाई आग्रह गरेका थिए। घरदैलोका क्रममा उम्मेदवार राईले आफू निर्वाचित भएपछि यहाँको विकास निर्माणलाई प्राथमिकता दिने बताउनुभयो।





