विश्व मिर्गौला दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर
मेराज सल्मानी
नेपालगन्ज । नेपालगञ्जमा विश्व मृगौला दिवसको अवसर पारेर मृगौला तथा मधुमेह सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ।नेपालगञ्जस्थित लाइफ जनरल अस्पतालका डा. पारस श्रेष्ठले विश्व मृगौला दिवसको अवसरमा सबैलाई मृगौला स्वास्थ्यप्रति सचेत रहन अनुरोध गरेका छन।
मृगौला मानव शरीरको अत्यन्त महत्वपूर्ण अंग भएको उल्लेख गर्दै उनले यसले शरीरबाट फोहोर पदार्थ हटाउने, पानी र नुनको सन्तुलन मिलाउने, रक्तचाप नियन्त्रण गर्ने तथा रगत बनाउन सहयोग गर्ने जस्ता महत्वपूर्ण काम गर्ने बताए।
डा. श्रेष्ठका अनुसार विश्वभर करोडौँ मानिस कुनै न कुनै प्रकारको मृगौला रोगबाट पीडित छन्, तर धेरैलाई यसको बारेमा जानकारी नै नहुने अवस्था छ। उनका अनुसार रोगका मुख्य कारणहरूमा मधुमेह, उच्च रक्तचाप, अत्यधिक नुनको सेवन, मोटोपन, धूम्रपान तथा अस्वस्थ जीवनशैली रहेका छन्।
“यदि समयमै जाँच र उपचार गरिएन भने मिर्गौला रोगले डायलाइसिस वा मिर्गौला प्रत्यारोपण जस्ता जटिल अवस्थासम्म पुर्याउन सक्छ,” उनले बताए।
मृगौला स्वास्थ्य जोगाउनका लागि सरल उपायहरू अपनाउन आवश्यक रहेको बताउँदै उनले स्वस्थ खानपान गर्ने, नियमित व्यायाम गर्ने, पर्याप्त पानी पिउने, धूम्रपान तथा मदिराबाट टाढा रहने, रक्तचाप र मधुमेह नियन्त्रणमा राख्ने तथा आवश्यक परेमा नियमित स्वास्थ्य परीक्षण गराउने सुझाव दिएका छन्।
“आजको यस महत्वपूर्ण दिनमा हामी सबैले एक प्रतिबद्धता गरौँ—आफ्नो मिर्गौलाको स्वास्थ्य जोगाऔँ, अरूलाई पनि यसबारे सचेत गराऔँ र स्वस्थ समाज निर्माण गरौँ,” डा. श्रेष्ठले आग्रह गरे।लाइफ जनरल अस्पतालले यस अवसरमा स्थानीय स्तरमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू पनि आयोजना गरेको जनाएको छ ।
जसको उद्देश्य मृगौला रोगबाट बच्ने उपायबारे जनतालाई जानकारी गराउनु हो।विश्व मिर्गौला दिवस प्रत्येक वर्ष मार्च महिनाको दोस्रो बिहीबार मनाइन्छ। यसको मुख्य उद्देश्य मृगौला रोगबाट बचावट, समयमै जाँच तथा उपचारबारे जनचेतना फैलाउनु हो।





