१४ वर्षमै विवाह,दाङकी किशोरी मृत फेला: घटनाबारे अनेक आशंका

मेराज सल्मानी
दाङ । दाङको बबई गाउँपालिका वडा नं. ३ सल्लीकोटस्थित जंगलमा मृत अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्रीको दुई महिना अघि नै विवाह भएको खुलासा भएको छ। उनी स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत रहँदै धनुषा निवासी एक व्यक्तिसँग विवाह गरेको बताइएको छ।

विवाहपछि उनका श्रीमान बेलाबेला अनुको घरमा आउने–जाने गर्थे। तर पछिल्लो दुई महिनादेखि उनीहरू सम्पर्कमा थिएनन्। कक्षा ८ को परीक्षा दिन केही दिनअघि मात्रै अनु दाङ आएकी थिइन्। यसबीच उनका श्रीमान गाउँमै आएको हुन सक्ने अनुमान गरिएको भए पनि उनी प्रत्यक्ष रूपमा देखिएका थिएनन्।

घटनाका अनुसार, चैत १२ गते अनु साथीको जन्मदिन मनाउन गएकी थिइन्। “होस्टेलतिर जान्छु” भनेर घरबाट निस्किएकी उनी त्यसपछि सम्पर्कविहीन भइन्। परिवारले खोजी सुरु गर्दै तुलसीपुरसम्म पुगे पनि उनको अवस्था पत्ता लाग्न सकेन।

हराएको तीन दिनपछि, चैत १५ गते, अनुका श्रीमानले टिकटकमार्फत अनुको दिदीलाई सन्देश पठाउँदै “सँगै मर्ने भने पनि अनु पहिले नै बितिसकेको” उल्लेख गरेका थिए। उक्त सन्देशपछि सो क्षेत्र आसपास खोजी गरिए पनि तत्काल शव फेला परेको थिएन।

सोमबार बिहान स्थानीय महिलाहरू घाँस काट्न जाँदा जंगलमा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार बिहान करिब १० बजे शव फेला पारिएको हो। शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ।

प्रारम्भिक अवस्थामा शव गलिसकेको हुँदा चोटपटक स्पष्ट देखिन सकेको थिएन। शव भेटिएको स्थानभन्दा करिब पाँच मिटर माथि रुखमा बेल्ट झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यसले घटनालाई थप शंकास्पद बनाएको छ।

परिवारका अनुसार, टिकटकमा आएको सन्देशका आधारमा अनु आफ्ना श्रीमानसँगै रहेको हुन सक्ने अनुमान गरिएको छ। साथै, ती व्यक्तिको पहिचान र अवस्थाबारे पनि विभिन्न आशंका उठाइएको छ। परिवारले २० वर्षपछि मात्र विवाह गर्ने योजना बनाएको भए पनि उक्त सम्बन्धका कारण विवाद सिर्जना भएको हुन सक्ने बताइएको छ।

अनुको मृत्यु भएपछि उनका श्रीमान भनिएका व्यक्तिले अनुसँगको फोटो टिकटकमा राख्दै भावुक सन्देशसमेत पोस्ट गरेका छन्।घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button