बसमा डाँका चोरी गर्ने ४ जना हतियार सहित प्रहरी नियन्त्रणमा

मेराज सल्मानी
नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँके ले बसमा डाँका चोरी गर्ने गिरोहमा संलग्न चार जनालाई पक्राउ गरेको छ। ६/७ जनाको समूहमा आएका व्यक्तिहरूले हतियार देखाएर यात्रुहरूलाई त्रसित बनाउँदै नगद, मोबाइल लगायतका सामान लुटपाट गरेका हो।

प्रहरीका अनुसार नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ४ स्थित बसपार्कबाट काठमाडौंतर्फ जाँदै गरेको बसमा सवार यात्रुहरूलाई लक्षित गरी डाँका चोरी भएको थियो।

घटनामा संलग्न समूहले यात्रुहरूलाई धाक, धम्की र डर देखाउँदै करिब ५९ हजार रुपैयाँ नगद, मोबाइल फोन तथा अन्य जिन्सी सामान लुटेको प्रहरीको भनाइ छ। घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरीले खोजतलास तथा अनुसन्धानलाई तीव्र बनाएको थियो।

अनुसन्धानकै क्रममा प्रहरीले घटनामा संलग्न चार जनालाई पक्राउ गर्न सफल भएको हो। पक्राउ परेकाहरूको साथबाट घटनामा प्रयोग गरिएको कटुवा पेस्तोल र खुकुरी समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा नेपालगञ्ज उप–महानगरपालिका वडा नं. १९ बस्ने २४ वर्षीय रामु परियार, २८ वर्षीय सुवास बिष्ट, २६ वर्षीय संजय क्षेत्री र कोहलपुर नगरपालिका वडा नं. ५ बस्ने १९ वर्षीय सन्दीप जंग क्षेत्री रहेका छन्।

प्रहरीले पक्राउ परेका चारै जनामाथि डाँका चोरी सम्बन्धी मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ। साथै, घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य समेत जारी रहेको प्रहरीले जानकारी दिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button