लागु औषधको आखाडा बन्दै नेपालगन्ज, ४ जना पक्राउ

मेराज सल्मानी
नेपालगञ्ज । हाल नेपालगन्ज क्षेत्र लागु औषध सेवन र बिक्री बितरण को आखाडा बन्दै गएको छ।जिल्ला प्रहरी कार्यालय बाँके ले लागूऔषध (ब्राउन सुगर) सहित ४ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं सुचना अधिकारी डिएसपी दिपक पातली का अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१ स्थित राष्ट्रिय वाणिज्य बैंक नजिक चेकजाँचका क्रममा जिल्ला प्रहरी कार्यालय बाँके तथा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरुको साथबाट करिब १४४ ग्राम ७१० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुर बस्ने सोनु जोलाहा, सोही वडामा बस्ने इरफान जोलाहा, मन्ना जोलाहा र वडा नम्बर १८ बस्ने सुमेर शेख रहेका छन् ।
उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।प्रहरीले लागूऔषध ओसारपसार तथा कारोबार विरुद्ध अभियानलाई अझ कडाइका साथ अगाडि बढाउने पनि जनाएको छ ।






