राष्ट्रिय परिचयपत्रको निशुल्क विवरण भर्ने सेवा पुनः सुरु
मेराज सल्मानी
नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले राष्ट्रिय परिचयपत्र विवरण दर्ता (Pre-enrollment) सेवा पुनः सुरु गरेको जनाएको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेका सुचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी महेश गुरुङ ले जेएन–जी आन्दोलनका क्रममा कार्यालयमा भएको क्षतिका कारण केही समय सेवा प्रभावित भएको जानकारी गराउँदै आन्दोलनका कारण कम्प्युटर लगायतका आवश्यक उपकरणमा क्षति पुगेपछि राष्ट्रिय परिचयपत्रसम्बन्धी प्रारम्भिक फाराम भर्ने सेवा अवरुद्ध भएको थियो।
तर अहिले आवश्यक व्यवस्थापन पूरा भएपछि सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले २०८२ साल चैत्र २३ गतेदेखि पुनः Pre-enrollment सेवा सञ्चालनमा ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी गुरुङ ले बताए ।
अब राष्ट्रिय परिचयपत्र बनाउन इच्छुक नागरिकहरूले सिधै जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई Pre-enrollment फाराम भर्न सक्नेछन्। यसबाट सेवाग्राहीले पहिले जस्तो अन्य माध्यम खोज्नुपर्ने झन्झटबाट राहत पाउने अपेक्षा गरिएको छ।कार्यालयले सम्बन्धित सबैलाई उक्त सेवाबारे जानकारी लिन र आवश्यक प्रक्रिया पूरा गर्न आग्रह समेत गरेको छ।





