भारतिय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा कडाइ,नियम उल्लंघन गरे जरिवाना अटेरी गरे जफत

मेराज सल्मानी
नेपालगञ्ज। नेपालमा विदेशी(भारतीय)नम्बर प्लेटका सवारी साधन सञ्चालन सम्बन्धी कानुनी व्यवस्था कडाइका साथ लागू गरिने भएको छ। नेपालगन्ज भन्सार कार्यालय का प्रमुख भन्सार अधिकृत जनार्दन आचार्यले अनुसार भन्सार अनुमति बिना यस्ता सवारी सञ्चालन गर्न नपाइने तथा नियम उल्लंघन गरे कडा कारबाही हुने जनाएका छन।

भन्सार ऐन २०८१ अनुसार नेपाल प्रवेश गरेका विदेशी(भारतीय)सवारी साधनले तोकिएको दैनिक शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ। जसअनुसार मोटरसाइकल वा स्कुटरका लागि दैनिक २०० रुपैयाँ, तीन पाङ्ग्रे सवारीका लागि ४०० रुपैयाँ तथा कार, जीप वा भ्यानका लागि ६०० रुपैयाँ शुल्क लाग्नेछ।

त्यस्तै, विदेशी सवारी साधनले एक आर्थिक वर्षमा अधिकतम ३० दिनसम्म मात्र नेपालमा सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ। तोकिएको समयभन्दा बढी नेपालमा रहेमा मोटरसाइकल र स्कुटरका हकमा दैनिक १,२०० रुपैयाँ र अन्य सवारी साधनका हकमा दैनिक २,५०० रुपैयाँका दरले जरिवाना लाग्ने बताइएको छ।

नजिकको बजार क्षेत्र नेपालगञ्जमा प्रवेश गरी सोही दिन फर्किने सवारीलाई भने डे-पास ईन्ट्री गरी प्रवेश छुट दिइने जनाइएको छ। तर, यस्तो सुविधा लिनका लागि नेपालगञ्ज भन्सार कार्यालयको यात्रु शाखा बाट आवश्यक अनुमति लिनुपर्ने व्यवस्था छ।

यसैगरी,भन्सार शुल्क नवीकरण नगरी ७ दिनभन्दा बढी सवारी सञ्चालन गरेमा सम्बन्धित सवारी जफत गर्न सकिने उल्लेख गरिएको छ। साथै, अनुमति बिना विदेशी भारतीय नम्बर प्लेटका सवारी सञ्चालन गरेको पाइएमा ट्राफिक प्रहरीले ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ।

नेपालगन्ज भन्सार कार्यालयले सबै सवारी चालकलाई नियम पालना गर्न आग्रह गर्दै अन्यथा आर्थिक दण्ड र सवारी जफतजस्ता कारबाही भोग्नुपर्ने चेतावनी दिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button