नेपालगञ्जमा ३७० ग्राम ब्राउन सुगरसहित ३ जना पक्राउ
मेराज सल्मानी
बाँके । नेपालगञ्ज स्थित शान्तिचोक क्षेत्रमा लागूऔषधविरुद्ध सञ्चालन गरिएको विशेष अपरेशनमा प्रहरीले ३७० ग्राम ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक रमेश बिष्टले विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले उक्त क्षेत्रमा निगरानी बढाएको थियो।
सो क्रममा लागूऔषध कारोबार भइरहेको अवस्थामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले भाग्ने प्रयास गरेका थिए। प्रहरीले आवश्यक बल प्रयोग गर्दै ३ राउण्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–२२ बस्ने वर्ष २८ का दिनेश वासखोर, सोही स्थानका वर्ष ३५ का नुर मोहम्मद किङ्गरिया र वर्ष २१ का फिरोज साई रहेका छन्।
प्रहरीले उनीहरूबाट ३७० ग्राम शुद्ध ब्राउन सुगर, भे ५ प ३१६८ नम्बरको होन्डा साइन मोटरसाइकल र विभिन्न कम्पनीका ३ थान मोबाइल बरामद गरेको छ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।





