हातहतियार सहित भिडियो पोस्ट गर्ने दुई जना पक्राउ
मेराज सल्मानी
नेपालगञ्ज । सामाजिक सञ्जाल टिकटकमार्फत हातमा खुकुरी बोकेर त्रास फैलाउने किसिमका भिडियो पोस्ट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–४ बस्ने ३० वर्षीय अजय कुमालले “Ajay Magar” नामको टिकटक आईडीबाट तथा डुडुवा गाउँपालिका–४ बस्ने २६ वर्षीय अनिल खटिकले “Anilsonkhar” नामको टिकटक आईडी प्रयोग गरी हातमा खुकुरी समातेर सर्वसाधारणमा डर र त्रास फैलाउने गतिविधिसहितका भिडियोहरू पोस्ट गरेका थिए।
उक्त गतिविधिले समाजमा असुरक्षा र आतंक फैलाउने खालको सामग्री प्रसारण गरेको ठहर गर्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका दुवै जनाविरुद्ध म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा त्रास फैलाउने कार्य नगर्न सबैलाई सचेत गराउँदै यस्ता गतिविधिमा संलग्नलाई कानुनी कारबाही गरिने जनाएको छ।





