बाँकेकी डा. सुमन बर्मा गायनोकोलोजी (एमडी) उत्तीर्ण
मेराज सल्मानी
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका वडा नं. ५ गुरुवा गाउँ निवासी तथा फत्तेबाल आँखा अस्पताल नेपालगञ्जका प्रबन्ध निर्देशक डा. कौशल कुमार बर्माकी सुपुत्री डा. सुमन बर्माले इन्स्टिच्युट अफ मेडिसिन (आईओएम) महाराजगञ्ज काठमाडौ बाट अब्स्टेट्रिक्स एण्ड गायनोकोलोजी विषयमा एमडी रेसिडेन्सी सफलतापूर्वक उत्तीर्ण गरेकी छन्।
डा. बर्माले स्त्री तथा प्रसूति रोग विशेषज्ञ (गायनोकोलोजिस्ट) को रूपमा सफलता हासिल गरेसँगै बाँके जिल्लाकै पहिलो मधेसी महिला विशेषज्ञ चिकित्सक बन्न सफल भएको बताइएको छ। उहाँको यस उपलब्धिलाई जिल्लावासीले गौरवका रूपमा लिएका छन्।
स्थानीयवासी जित बहादुर बर्माले डा. सुमनको सफलता केवल परिवारको मात्र नभई सम्पूर्ण बाँकेवासीका लागि गर्वको विषय भएको बताए।
उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा महिलाको बढ्दो सहभागिताले समाजमा सकारात्मक सन्देश दिएको उल्लेख गरे।डा. सुमन बर्माको सफलतापछि परिवार, आफन्त तथा शुभेच्छुकहरूले बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन्।





