बैजनाथ ब्राउन सुगर सेवनकर्ता र कारोबारीहरूको ‘हब’ बन्दै

मेराज सल्मानी

नेपालगन्ज । बाँकेको बैजनाथ क्षेत्रमा लागुऔषध ब्राउन सुगर सेवन तथा कारोबार बढ्दो अवस्थामा देखिएको छ। पछिल्लो समय लगातार ब्राउन सुगरसहित पक्राउ पर्ने घटनाले बैजनाथ लागूऔषध प्रयोगकर्ता र कारोबारीहरूको ‘हब’ बन्दै गएको संकेत गरेको स्थानीयले बताएका छन्।

यसैक्रममा लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जले खैरो हेरोइन (ब्राउन सुगर) सहित तीन जनालाई पक्राउ गरेको छ। ब्यूरोको टोलीले बैजनाथ गाउँपालिका–५ छमनिया निवासी २४ वर्षीय वीरबहादुर थारुलाई पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा प्रहरी सहायक निरीक्षक नवीन शाहीको कमाण्डमा खटिएको टोलीले थारुको घरमा छापा मारेको थियो।

खानतलासीका क्रममा थारुले सुत्ने खाटको सिरानीमुनि कालो प्लास्टिकमा पुरिया बनाएर लुकाइराखेको अवस्थामा खैरो हेरोइन फेला परेको ब्यूरोले जनाएको छ।

बरामद पदार्थ प्लास्टिकसहित ४ ग्राम ६१० मिलिग्राम र प्लास्टिक हटाउँदा ४ ग्राम २२० मिलिग्राम रहेको प्रहरीले जनाएको छ। साथै एक थान मोबाइलसमेत बरामद गरिएको छ।

त्यसैगरी बैजनाथ गाउँपालिका–१ र २ को सिमाना मुलाटाँटी क्षेत्रबाट थप दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा २८ वर्षीय यामबहादुर बुढा र ३३ वर्षीय टोपबहादुर रोकाया रहेका छन्।

उनीहरू बसेको स्थान तथा शरीर खानतलासी गर्दा रातो प्लास्टिकले बेरेर राखिएको ६५ पुरिया खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ। उक्त पदार्थ प्लास्टिकसहित ३ ग्राम ३५० मिलिग्राम र प्लास्टिक हटाउँदा २ ग्राम ११० मिलिग्राम रहेको पुष्टि भएको छ।

पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button