विश्व सडक सुरक्षा सप्ताहको अवसरमा २३० सवारी साधनको यान्त्रिक परीक्षण
मेराज सल्मानी
नेपालगन्ज। विश्व सडक सुरक्षा सप्ताहको अवसरमा आज यातायात व्यवस्था कार्यालय नेपालगञ्ज, र जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर, बाँकेको आयोजना तथा सडक डिभिजन कार्यालय नेपालगञ्ज, बाँकेको सहकार्यमा सार्वजनिक सवारी साधनहरूको अनुगमन तथा यान्त्रिक परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ।
नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित क्षेत्रमा सञ्चालन गरिएको उक्त कार्यक्रममा करिब २३० वटा सार्वजनिक सवारी साधनको यान्त्रिक परीक्षण गरिएको थियो।
कार्यक्रमअन्तर्गत सवारी साधनहरूको ब्रेक, लाइट, टायर, साइड इन्डिकेटर, इन्जिनको अवस्था लगायतका प्राविधिक पक्षहरूको परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनक शाहीले बताएका छन। सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्रालाई प्रवर्द्धन गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको बताइएको छ।
सरोकारवाला निकायहरूले सवारी साधन नियमित रूपमा मर्मत तथा परीक्षण गर्न चालक तथा व्यवसायीहरूलाई आग्रह समेत गरेका छन्।





