उपचारका क्रममा लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन
बाँके । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको आज निधन भएको छ । उनको काठमाडौंको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज अन्तर्गत मनमोहन कार्डियो–थोरेसिक सेन्टरमा उपचारका क्रममा शनिबार निधन भएको एमाले पोलिटब्यूरो सदस्य तथा रुकुमपूर्व इन्चार्ज खेममान खड्काले बताए ।
रुकुमपूर्व, तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौं लगिएको थियो।
अस्पतालमा उनको दुई पटक ठूलो शल्यक्रिया (मेजर अपरेशन) गरिएको थियो । पहिलो अपरेशनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रो अपरेशनमार्फत उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो ।
प्रदेश सभा सदस्य पुन एमालेबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएकी थिइन् । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा उनको निधनसँगै रिक्तता आएको छ ।





