मोहम्मद डे का अवसरमा नेपालगन्जमा झिलिमिली बत्तीले दुलही झै श्रृङ्गारियो

बाँके । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैही व-सल्लमको १५०० औं जन्मोत्सव अर्थात् ‘मोहम्मद डे’ भोलि धुमधामका साथ मनाइदैँ छ । जन्मोत्सवको अवसरमा आज नेपालगन्जस्थित मुस्लिम समुदायको घर-घर, टोल र चोकमा गेट बनाई झिलिमिली बत्तीले दुलही झै सिंगारिएको छ ।‘मोहम्मद डे’का अवसरमा शुक्रबार नेपालगन्जमा बृहत र्‍याली निकालिने भएको छ । ‘मोहम्मद डे’ का अवसरमा मुस्लिम समुदायले हजरत मोहम्मदका उपदेश स्मरण गर्ने, सामूहिक भोजन गर्ने र एकअर्कामा शुभकामना साटासाट गर्ने प्रचलन छ ।

‘मोहम्मद डे’का अवसरमा स्थानीय फैजुनब्बी जामा मस्जिदबाट बृहत र्‍याली शुरु हुने जनाएको छ । र्‍याली वडा प्रहरी कार्यालय रोड, एमपी स्कुल, त्रिभुवन चोक, विपी चोक, घरबारीटोल हुदै पुनः गौसिया मस्जिदमा पुगेर समापन हुने नेपाल मोहरर्म पर्व धम्बोझीका अध्यक्ष मेराज हिमालले जानकारी दिए ।

‘मोहम्मद डे’का अवसरमा नेपाली मुस्लिम समुदायहरुले गरिब तथा विपन्न, असक्त, अनाथलाई दान दिने, घर–आँगनलाई सफा-सुग्घर राख्ने, घरघरमा इस्लामिक झण्डा फहराउने, दिप–प्रज्ज्वलन गर्ने लगायत क्रियाकलाप आदि गर्छन् ।

‘मोहम्मद डे’लाई ईद मिलादुननबी र १२ रबिउल अब्बल पनि भन्ने गरिन्छ। ‘मोहम्मद डे’का अवसरमा गृह मन्त्रालयले शुक्रबार नेपाली मुस्लिम धर्मावलम्बीहरुका लागि मात्र सार्वजनिक विदा दिएको विज्ञप्तिमा भनिएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button