दोस्रो विधान महाधिवेशनमा समुहगत छलफल

ललितपुर । नेकपा एमाले दोस्रो विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूमाथि दश समूहमा छलफल सुरु भएको छ । सात प्रदेश, उपत्यका विशेष, जनसङ्गठन र प्रवास गरी दश समूहले प्रतिवेदनहरूमाथि छलफल सुरु गरेका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको सङ्गठनात्मक, निर्वाचन आयोगका संयोजक डा विजय सुब्बा, लेखा डा पुष्प कँडेल, अनुशासन आयोग संयोजक केशव वडाल र सल्लाकार परिषद् संयोजक अमृत बोहोराले प्रतिवेदन पेस गरेका थिए ।
प्रतिनिधिहरूलाई प्रस्तुत भएका प्रतिवेदनमाथि फरक मत तथा असहमति भए आ–आफ्नै समूहमा बहस गर्न अध्यक्ष केपी शर्मा ओलीले निर्देश गरेका छन्।
दश समूहमा सबै प्रतिवेदनमाथि छलफल हुनेछ । प्रत्येक समूहले बहस नोट कमिटी, छलफलको प्रतिवेदन लिखित र टोली नेताले प्रतिवेदन हलमा पेस गर्न महासचिव पोखरेले निर्देश गरे ।
त्यसैगरी बन्दशत्रले सचिव लेखराज भट्टको संयोजकत्वमा बहस नोट कमिटी गठन भएको छ । जसमा सदस्यहरू स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटब्युरो सदस्य सूर्य थापा, जुली महतो, केन्द्रीय सदस्य विष्णु रिजाल, नीरज आचार्य र विष्णुमाया विक रहेका छन् ।





