जिप्रका बाँके पुनः देशकै एक नम्बर
'एसपी जिसी नागरिक बिच आफु दबाव र प्रभावमा नपरि काम गर्ने प्रहरी अधिकृतको छाप छोड्न सफल'

बाँके । प्रहरी उपरीक्षक (एसपी) अङ्गुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले लगातार उत्कृष्ट कार्यसम्पादन गर्दै देशभरमै सर्वोत्कृष्ट प्रहरी कार्यालय बन्न सफलता हासिल गरेको छ।
प्रहरी प्रधान कार्यालयले वैशाख महिनाको कार्यसम्पादन मूल्याङ्कनमा बाँकेलाई देशकै सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय घोषणा गरेको हो। बाँके प्रहरी गत चैतमा पनि देशभरकै सर्वोत्कृष्ट प्रहरी कार्यालय बाँकेको थियो। यसपटक भने कार्य सम्पादन लगभग १० प्रतिशतले वृद्धि भएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार एसपी जिसीको नेतृत्वमा बाँके प्रहरीले शान्तिसुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण तथा अनुसन्धानमा उल्लेखनीय प्रगति हासिल गरेको छ। कोहलपुर नगर विकास समितिको प्लानिङ क्षेत्रअन्तर्गत पर्ने करिब २८ बिघा जग्गामा विगत दुई दशकदेखि भइरहेको अतिक्रमण हटाउने संवेदनशील कार्यलाई कुनै अप्रिय घटना बिना सफलतापूर्वक सम्पन्न गर्नु प्रमुख उपलब्धिका रूपमा लिइएको छ। काठमाडौं उपत्यकापछि सहज रूपमा अवैध संरचना हटाउन बाँके प्रहरीको योगदान उल्लेखनीय रहेको बुझिएको छ।
प्रहरी सङ्गठनको नीति निर्देशनअनुसार अनुशासित, व्यावसायिक र कर्तव्यनिष्ठ ढंगले जिम्मेवारी निर्वाह गरेको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेलाई सर्वोत्कृष्ट घोषणा गरिएको हो। एसपी जिसीले जिम्मेवारी सम्हालेपछि जिल्लामा शान्तिसुरक्षाको अवस्था सुदृढ हुनुका साथै अपराध अनुसन्धानमा समेत उल्लेखनीय सुधार देखिएको छ।
वैशाख महिनामा मात्रै जिल्लाभर २०५ वटा अपराधका मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइएको छ भने सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्दै राजस्व संकलनमा समेत योगदान पुगेको प्रहरीले जनाएको छ।
नागरिकमैत्री सेवा प्रवाह, प्रविधिको प्रयोग र कडा कमाण्ड प्रणालीलाई यस सफलताको मुख्य आधार मानिएको छ। सर्वसाधारणका गुनासोको शीघ्र सुनुवाइ, प्रमाण संकलनमा आधुनिक प्रविधिको प्रयोग तथा मातहतका इकाइहरूको सक्रिय परिचालनले समग्र कार्यसम्पादनमा सुधार ल्याएको देखिन्छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी जिसीले यो उपलब्धि व्यक्तिगत नभई सम्पूर्ण टिमवर्कको परिणाम भएको बताएका छन्। “प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय बाँकेको कार्यसम्पादनलाई देशभरमै उत्कृष्ट ठहर गरेकोमा सम्पूर्ण टोलीप्रति आभार व्यक्त गर्छु,” उनले भने, “अबको प्राथमिकता भनेको बाँकेबासीलाई अझ सुरक्षित अनुभूति गराउने, पीडितलाई छिटो न्याय दिलाउने र प्रहरी सेवामा नागरिकमैत्री व्यवहारलाई अझ सुदृढ बनाउने हो।”
उनले जिल्लामा शून्य सहनशीलताको नीति अपनाउँदै लागुऔषध कारोबार, अपराध तथा सीमामा हुने अवैध गतिविधि नियन्त्रणमा थप कडाइ गरिने स्पष्ट पारे। “पीडित न्यायबाट वञ्चित नहोस् भन्ने हाम्रो पहिलो दायित्व हो। अपराधीमाथि कुनै पनि हालतमा सम्झौता हुँदैन,” उनले जोड दिए।
यता, पछिल्लो समय एकजना अभियन्ताले एसपी जिसीमाथि कारबाहीको माग गर्दै विभिन्न गतिविधि गर्दै आएकी थिइन तर प्रहरी प्रधान कार्यालयबाटै जिल्ला प्रहरी कार्यालय बाँकेलाई सर्वोत्कृष्ट घोषणा गरेको छ । एसपी जिसीको नेतृत्वमा जिल्लामा शान्ति सुरक्षाको अवस्था सुधारिएको छ।
एसपी जिसीको कार्यशैलीप्रति बाँकेवासीले सन्तुष्टि व्यक्त गर्दै अनावश्यक दबाबमा नपरी निष्पक्ष र परिणाममुखी काम गर्ने प्रहरी अधिकृतका रूपमा हेर्ने गरेका छन् ।
यस मूल्याङ्कनले बाँके जिल्लामा शान्तिसुरक्षा मजबुत बन्दै गएको र नागरिकहरूले सुरक्षित वातावरणको अनुभूति गर्न थालेको पुष्टि गरेको छ। अर्को अर्थमा एसपी जिसीको कमाण्ड अब्बल र सर्हानीय रहेको समेत प्रमाणित भएको छ।





