यु–१४ मा खजुराको इन्टिग्रेटेडको विजयी सुरुआत

नेपालगन्ज । खजुरा सैनिकको इन्टिग्रेटेड एकेडेमीले बाँके जिल्ला स्तरीय यु–१४ छात्र–छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
नेपालगन्ज रंगशालामा भएको छात्र तर्फको खेलमा इन्टिग्रेटेड एकेडेमीले नेपालगन्जको वेस्टजोन माविलाई ४–० ले पराजित गरेको छ । खेलमा कप्तान निशान थापाले २ गोल, समर गुरुङ र निश्चल सुवालले १–गोल गरेका थिए ।
कप्तान निशानले २१औं र २४औं मिनेटमा गोल गरे भने समरले ५ मिनेट र निश्चलले २०औं मिनेटमा गोल गरि आफनो टिमलाई सहज जित दिलाए । यसैगरी छात्र तर्फको खेलमा नेपालगन्ज मोडेल एकेडेमी र सिद्धार्थ विद्या सदन बिचको खेल प्राविधिक कारणले पहिलो हाफ सकिएपछि रोकिएको थियो । पहिलो हाफमा सिद्धार्थले १–० ले अग्रता लिएको छ । सिद्धार्थ र नेपालगन्ज मोडेल एकेडेमीबिचको दोस्रो हाफ आइतबार खेलाउने आयोजकले जनाएको छ ।
बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा छात्र तर्फ बाँकेका १७ विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेता टिमले लुम्बिनी प्रदेश स्तरीय एन्फा यु–१४ फुटबल प्रतियोगितामा बाँकेको प्रतिनिधित्व गर्नेछ ।
शनिबार एक समारोहका बिच जयमंगल सिमेन्ट प्रालिका प्रबन्ध निर्देशक संजय अग्रवालले प्रतियोगिताको उद्घाटन गर्दै अग्रवालले फुटबलको विकासको निम्ति फुटबल परिवारसँग सहकार्य गरेर अगाडी बढिरहेको बताए । जय मंगलम सिमेन्ट पहिलो नेपालगन्ज गोल्ड कप फुटबलको मुख्य प्रायोजक हो ।





