प्रधानमन्त्रीद्वारा जेन-जी प्रदर्शनमा भएको क्षतिप्रति दुःख व्यक्त

सामाजिक सञ्जालको प्रयोगलाई रोक्ने पक्षमा नरहेको जनाउ

काठमाडौं, भदौ २३। प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा भएको दुःखद घटनाले आफू अत्यन्तै मर्माहत भएको प्रतिक्रिया दिनुभएको छ ।

उहाँले घटनामा निर्दोष नागरिकले ज्यान गुमाउनु परेकोप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनलाई उचित राहत र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

प्रधानमन्त्री ओलीले जेन–जी पुस्ताले राखेका मागप्रति सरकार नकारात्मक नभएको स्पष्ट पार्दै प्रदर्शनमा विभिन्न स्वार्थी तत्त्वहरूको घुसपैठका कारण अप्रिय अवस्था सिर्जना भएको दाबी गर्नुभएको छ । उहाँले जारी गर्नु भएको वक्तव्यमा ‘हाम्रा छोराछोरी पुस्ताले आफ्ना माग शान्तिपूर्ण रूपमा राख्नेमा हामी आश्वस्त थियौँ, तर घुसपैठका कारण संवैधानिक निकायका कार्यालयहरूमा तोडफोड र आगजनी भएका घटनाले ज्यान जाने स्थिति सिर्जना भयो ।’

उहाँका अनुसार प्रदर्शनका आयोजक स्वयंले समेत घुसपैठ भएको थाहा पाएर सबैलाई घर फर्कन आह्वान गरिसकेपछि बाह्य तत्त्वहरूले तोडफोड र आगजनी गरेका हुन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालबारे पनि स्पष्टीकरण दिनुभएको छ । उहाँले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने नीति नलिएको बताउँदै अदालतको आदेशअनुसार नेपालमा दर्ता र सूचीकरण गर्ने प्रक्रिया पूरा नगरेका कारण अस्थायी रूपमा केही प्लेटफर्म निष्क्रिय गर्न बाध्य भएको जानकारी दिनुभएको छ । उहाँले भन्नुभएको छ– ‘राज्यको कानुन र अदालतको आदेशअनुसार सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने हाम्रो प्रयास हो, नयाँ पुस्ता प्रभावित भएकामा हामी संवेदनशील छौँ ।’

प्रधानमन्त्री ओलीले घटनाको छानबिन गरी आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिने बताउनु भएकाे छ । त्यसका लागि १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन गरिने आश्वासन दिनुभएको छ ।

आज भएको प्रदर्शन रोक्ने क्रममा प्रहरी कारबाहीमा परी २० जनाको ज्यान गएको छ भने ठुलो सङ्ख्यामा युवाहरू घाइते भएका छन् ।

यस्ताे छ प्रधानमन्त्रीकाे वक्तव्य

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button