नेपालगञ्जमा संविधान रक्षार्थ मौन प्रदर्शन

मेराज सलमानी
नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँकेको अगुवाइमा शुक्रबार नेपालगञ्जमा संविधान रक्षार्थ मौन प्रदर्शन गरिएको छ ।
‘राष्ट्र जोगाऔं–संविधान जोगाऔं’ भन्ने नारासहितको प्लेकार्ड बोकेर गरिएको प्रदर्शनमा नेपाल पत्रकार महासंघ बाँके, नेपाल बार एसोसिएसन, शान्ति र लोकतन्त्रका लागि पेशागत संगठन (पापड) लगायतका संस्थाहरूको सहभागिता रहेको थियो ।
महासंघ बाँकेका सचिव कृष्ण ओलीका अनुसार केन्द्रीय सर्कुलरअनुसार संविधानको रक्षाका लागि देशभरै मौन प्रदर्शन गरिएको हो । यस्तै, हालको जेनजी आन्दोलन र त्यसपछिका घटनाक्रमले सात दशक लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढेकाले त्यसको रक्षाका लागि मौन प्रदर्शन गरिएको नेपालगञ्ज उच्च अदालत बारका अध्यक्ष चित्र बहादुर शाहीले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईं, बाँके जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष मेहर सिंह खत्री, प्राध्यापक संघका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, नेपाल शिक्षक महासंघ बाँकेका उपाध्यक्ष शेखर रावत, प्याव्सन बाँकेका अध्यक्ष विकास बज्राचार्य, नेपाल चिकित्सक संघका सदस्य डा. राहुल कुर्मी, वरिष्ठ अधिवक्ता विजय गुप्ता लगायत अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।





