प्रदर्शनमा लिएको सामग्री फिर्ता गर्नु : बाँके प्रहरी
मेराज सलमानी

नेपालगंज । जिल्ला प्रहरी कार्यालय बाँकेले हालै भएको प्रदर्शनका क्रममा नियन्त्रणमा परेका विभिन्न सामग्री फिर्ता गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रहरीले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायको हातहतियार, सज्जा साधन एवं सरकारी, गैरसरकारी तथा निजी संघ–संस्थाका सवारी साधन, दस्तावेज, लिखत वा अन्य सामानहरु प्रदर्शनकारीले नियन्त्रणमा लिएको वा कहीं फेला परेको अवस्थामा नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाउन अनुरोध गरेको हो।
यसै गरी आन्दोलनमा संलग्न व्यक्तिहरूले नियन्त्रणमा लिएका प्रहरी पोशाक वा अन्य प्रहरी सामग्रीहरूको दुरुपयोग नगर्न र नगराउन पनि प्रहरीले आग्रह गरेको छ। सो सम्बन्धी कुनै पनि जानकारी भए तत्काल प्रहरीलाई सूचना दिन समेत जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम् प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।





