नेपाल पत्रकार महासंघ बाँकेको वेबसाइट शुभारम्भ
मेराज सलमानी

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँकेले आफ्नो आधिकारिक वेबसाइट शुभारम्भ गरेको छ । बडादशैं, दीपावली, नेपाल सम्बत् ११४६ र छठ पर्वको अवसरमा महासंघ कार्यालयमा आयोजित चाडपर्व विशेष शुभकामना आदान–प्रदान कार्यक्रममा लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले वेबसाइट उद्घाटन गरेका हुन् ।
महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी वक्ताहरुले चाडपर्वले सत्प्रेरणा र सकारात्मकता वृद्धि गर्ने विश्वास व्यक्त गर्दै समाजमा बढ्दो नकारात्मकताप्रति चिन्ता प्रकट गरेका थिए ।
प्रमुख अतिथि चौलागाईले बाँके शाखाले लुम्बिनी प्रदेशमै पहिलोपटक वेबसाइट शुभारम्भ गरेर अग्रणी भूमिका खेलेको उल्लेख गर्दै यसको निरन्तरता र नियमित अद्यावधिकमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले बाँके शाखा सदस्यता नवीकरण प्रक्रियामा समेत पहिलो रहेको बताउँदै पत्रकारितामा विश्वास जोगाइराख्न पत्रकारहरु जिम्मेवार र कर्मशील हुनुपर्ने धारणा राखे ।
अध्यक्ष गिरीले वेबसाइट सञ्चालनमार्फत डिजिटलाइजेशनलाई प्रवर्द्धन गरिएको बताउँदै शाखाको आन्तरिक जीवन, गतिविधि र सदस्य विवरण डिजिटल र पारदर्शी बनाइने जानकारी दिए ।
कार्यक्रममा पूर्व अध्यक्षद्वय प्रेम केसी र निरज गौतम, नेपाल प्रेस युनियन बाँके अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी बाँके अध्यक्ष कमल डाँगी, समाजवादी प्रेस संगठन बाँके अध्यक्ष लोकनाथ शर्मा, प्रेस संगठन बाँके सहसचिव सन्तोष विष्ट, क्रियाशील पत्रकार महिला बाँके उपाध्यक्ष विमला चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम सञ्चालन सचिव कृष्ण ओलीले गरेका थिए भने सह–सचिव भगतराम थारुले स्वागत मन्तव्य राखेका थिए।
वेबसाइट डिजाइन तथा विकास गर्ने सफ्टवेयर कम्पनी डटवक्र्स टेक्नोलोजिजका प्रबन्ध निर्देशक अर्सद कमल सिद्दिकीले वेबसाइटका फिचरबारे जानकारी दिँदै अझै केही डाटा अपडेट गर्ने काम भइरहेको जनाए का छन ।





