बाँकेमा थपिए एक जना मुस्लिम चिकित्सक

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका–८ निवासी समाजसेवी अतहर हुसेन फारुकीका छोरा डा. अजहर हुसेन फारुकीले नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण गरेका छन्। यससँगै उनी औपचारिक रूपमा चिकित्सकको रूपमा सेवा गर्न सक्षम भएका छन्।
एमबिबिएस अध्ययन सफलतापूर्वक पूरा गरी काउन्सिल परीक्षा पास गरेपछि डा. फारुकीलाई स्थानीयबासी, आफन्त, साथी तथा शुभेच्छुकहरूले बधाई तथा शुभकामना दिएका छन्।
समाजसेवी पिता अतहर हुसेन फारुकीले छोरोले हासिल गरेको सफलताप्रति खुसी व्यक्त गर्दै भने, “समाजसेवामा जीवन बिताएको मान्छेका लागि यसभन्दा ठूलो खुसी के हुन सक्छ भने अब छोराले अध्ययन गरेर समाजकै सेवा गर्ने बाटो रोजेको छ।”
साथी र सहपाठीहरूले पनि डा. फारुकीलाई ‘मिहिनेत र अनुशासनको प्रतिफल’ भन्दै आगामी दिनमा बाँके तथा देशभरका बिरामीहरूको सेवामा सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
स्थानीयहरूका अनुसार डा. फारुकीले आफ्नो पेशागत जीवन नेपालमै प्रारम्भ गर्ने र भविष्यमा स्वास्थ्य सेवा पहुँच नपुगेका समुदायलाई सेवा पुर्याउने लक्ष्य राखेका छन्।यससँगै बाँके जिल्लाले थप एक दक्ष चिकित्सक पाएको छ।





