म हरेक दिनलाई अन्तिम दिन सम्झिदै काम गर्ने छु : बाँके प्रहरी प्रमुख

नेपालगन्ज । जेन्जी आन्दोलन पश्चात बाँकेमा सरुवा भएर आउनु भएका प्रहरी उपरिक्षक अंगुर जिसीले बाँकेमा काम गर्दा मेरो लागि हरेक दिन अन्तिम दिन सम्झिदै काम गर्ने बताउनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले आज आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा बाँकेको प्रहरी प्रमुखका रुपमा आउनु भएका एसपी अंगुर जिसीले अपराध अनुसन्धान गर्दा मेरो लागि प्रत्येक दिन अन्तिम दिन हुने बताउनु भएको हो । प्रहरी प्रमुख जिसीले भन्नुभयो,–“मेरो लागि प्रत्येक दिन अन्तिम दिन हुनेछ, म त्यो भावनाका साथ काम गर्छु, यहाँ मलाई ३६५ दिन बस्न छैन्”
अन्तरिम सरकारमा ओम प्रकाश अर्याल गृह मन्त्री भएको भोलीपल्ट देशभरका ४८ जना प्रहरी उपरिक्षकको सरुवा हुंदा बाँके प्रहरी प्रमुखका रुपमा आउनु भएका एसपी जिसीले वर्तमान परिस्थितिमा प्रहरी कसैको दबाव प्रभावमा नपरि अपराध अनुसन्धान र कार्य सम्पादन गर्ने बताउनु भयो ।
सरकारले वर्तमान परिवेशमा दिएको जिम्मेवारी पुरा गर्न बाँके आएको बताउदै एसपी जिसीले प्रहरी अब पूर्ण रुपमा पिडित मैत्री भई काम गर्दै भनसुनको आधारमा मात्र काम हुने दिन अब आउन नदिई जनताको जिउधनको पूर्ण सुरक्षाको प्रयास जारी राख्ने बताउनु भयो । प्रहरी उपरिक्षक जिसीले न्यायको पर्खाइमा रहेका नागरिकका लागि प्रहरी प्रारम्भिक न्यायधीस भएको अनुभूति गराउने बताउदै प्रहरी डर र भर दुबै हो भन्ने कुरा पनि पुष्टि गराउने बताउनु भयो ।
प्रहरी प्रमुख जिसीले सुशासन खोज्दै छोटो समयमा ठुलो परिवर्तन भएको घटनालाई लक्षित गर्दै सुशासन कायम गर्नमा सरकार र कर्मचारीको भुमिकाले मात्र सम्भव नहुने भन्दै सुशासन कायममा आमनागरिकलाई पनि जिम्मेवार हुन आग्रह गर्दै बाँकेवासीलाई सकारात्मक र नकारात्मक दुवै सुझाव दिन आग्रह गर्नुभयो ।
अबैध ब्रोइलर कुखुरा बरामद
जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट अबैध रुपमा नेपाल भित्र्याउँदै गरेको ब्रोईलर कुखुरा नेपालगञ्जको जमुनाहा नाकाबाट बरामद गरेको छ।
नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहा गाउँ बस्ने गयास कवडीयाले साइकिलमार्फत ल्याउँदै गरेको अवस्थामा ४० वटा ब्रोईलर कुखुरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। बरामद कुखुराको अनुमानित मूल्य रु. २५ हजार ६ सय बराबर रहेको छ।
साइकिलसहित नियन्त्रणमा लिइएका कवडीयालाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बांकेले जनाएको छ।





