वेस्ट इन्डिजविरूद्ध नेपालकाे लगातार दोस्रो जीत

काठमाँडाैं । नेपालले वेस्ट इन्डिज विरूद्धको टी-२० खेलमा शानदार प्रदर्शन गर्दै दोस्रो खेलमा जीत निकालेको छ। नेपालले आइसिसीको पूर्ण सदस्य रहेको वेस्ट इन्डिजसँग ९० रनले विजयी भएकाे हाे ।

सोमबार शारजाहमा भएको खेलमा १७४ रनको लक्ष्य प्रस्तुत गरि नेपालले लगातार दोस्रो पटक जित निकालेसँगै सिरिज नै जितेको छ । उक्त लक्ष्यलाई पछ्याउने क्रममा रहेको वेस्ट इन्डिजले १७.१ ओभरमा १० वटै विकेट गुमाउँदै ८३ रन मात्रै बनाउन सकेको हो। नेपालका लागि बलिङ गर्दा आदिल अन्सारी र कुशल भुर्तेलले उत्कृष्ट बलिङ गरेका छन्।

आदिल अन्सारीले चार विकेट, कुशल भुर्तेलले तीन, दीपेन्द्र सिंह ऐरी एक , करण केसी एक र ललित राजवंशीले एक विकेट लिएका छन्।
भुर्तेल र गुल्शन झाले उत्कृष्ट क्याच समेत समातेका थिए। नेपालका लागि आशिफ शेख र सन्दिप जोराले उत्कृष्ट ब्याटिङ गरेका थिए। शेखले ६८ रन र जोराले ६३ रन बनाएका हुन्।

ओपनर कुशल भुर्तेल र कप्तान रोहित पौडेलले राम्रो प्रदर्शन गर्न सकेनन्। भुर्तेलले दुई रन र पौडेलले तीन रन बनाए। कुशल मल्लले पनि सात रन, गुल्शन झाले ६ रन र मोहम्मद आदिल आलमले ११ रन बनाए। ६ विकेटको क्षतिमा नेपालले १७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जुन लक्ष्यलाई वेस्ट इन्डिजले पछ्याउन सकेन।

यसअघि शनिबार भएको खेलमा पनि नेपालले वेस्ट इन्डिजलाई पराजित गरेको थियो। नेपालले पहिलो खेलमा १९ रनको जित निकालेको थियो। वेस्ट इन्डिज दुई पटक टी-२० विश्वकप विजेता रहिसकेको राष्ट्र हो।

वेस्ट इन्डिजविरूद्धको अन्तिम खेल मंगलबार शारजाहमा हुनेछ। उक्त खेल पछि नेपालको टोली विश्वकप छनोट खेल्न ओमान जानेछ। ओमानमा सुरुमा नेपालले समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ। यो समूहबाट शीर्ष दुईमा परे सुपर-६ मा पुग्नेछ।

सुपर-६ मा खेल्ने ६ टोलीमध्ये शीर्ष ३ मा पर्न सके नेपालले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा स्थान बनाउनेछ। ओमानमा तीन समूह नौ टोलीबीच प्रतिस्पर्धा हुनेछ। अरु समूहमा मलेसिया, कतार र युएई तथा ओमान, पिएनजी सामोआ छन्। तीन समूहका शीर्ष २-२ टोली गरी सुपर-६ मा पुग्ने कुल ६ टोलीमध्ये शीर्ष ३ टोली भएमा नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा छनोट हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button