बाँँकेमा शान्तिपुर्ण दुर्गा मुर्ति बिसर्जन
बाँके । नेपालगन्जलगायत बाँकेका विभिन्न स्थानमा स्थापना गरिएका दुर्गा भवानीको प्रतिमा विधिवत रुपमा डुडुवा गाउँपालिकास्थित राप्ति नदीको सिधनिया घाटमा शान्तिपूर्ण मुर्ति बिसर्जन गरिएको छ । नेपालगन्जसहित बाँकेका बिभिन्न स्थानमा घटस्थापनको दिन स्थापना गरिएको ७ सयबढी भवानीको प्रतिमा बाँकेका सिधनिया, अगैया, मानखोला लगायतका घाटमा शुक्रबार बिसर्जन गरिएको हो ।
दश दिनसम्म पूजाआजा गरी नेपालगन्जमा राखिएको मूर्तिलाई नगरको विभिन्न भागको परिक्रमा गराई राप्ती नदीमा विसर्जन गरिएका हुन । ट्रक, ट्याक्टर र पिकअप भ्यानमा राखेर दुर्गा प्रतिमा सेलाउन लैजाने क्रममा केही समय नेपालगन्जको ट्राफिक अस्तब्यस्त हुन पुगेको थियो । शुक्रबार दिनभर जिल्लामा मदिरा निषेध गर्नुका साथै घुसपैठबाट र्यालीलाई जोगाउन जमुनाहा नाकासमेत सील गरिएको थियो ।
यसैगरी मुर्ती विसर्जनलाई मर्यादित र शान्तिपूर्ण बनाउन बाँके प्रशासनले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो । मूर्ति विसर्जनका क्रममा आयोजना गरिएका र्यालीमा अपराधिक ब्यक्तिको घुसपैठ हुन नदिन प्रहरीले नगरका विभिन्न भागमा ड्रोनमार्फत निगरानी गरेको थियो । उक्त दिन कुनै अप्रिय घटना हुन नदिन उच्च सतर्कता अप्नाइएको र समस्त बाँकेबासीले संयमता र सदभाव प्रदर्शन गरेकाले शान्तिपूर्ण रुपमा मूर्ति बिसर्जन कार्य सम्पन्न भएको प्रहरीले जनाएको छ ।
केहिदिन अघिभएको झडपको घटनाबाट पाठ सिकेर प्रशासनले ठूलो संख्यामा सादा पोशाकमा प्रहरी खटाएका थिए । अति संवेदनशील क्षेत्र सदरलाइन, त्रिभुवन चोक, त्रिवेणी मोड, फुल्टेक्रारोड, घरबारी टोल, विपि चोक र राप्ती रोडमा सुरक्षाकर्मी तैनाथ गराइएको थियो ।
यसैगरी मूर्ति विसर्जन गर्न जाने क्रममा दुई समुदाय बिच नेपालगञ्जको वडा नम्बर ६, १८ र १९ मा विवाद सिर्जना भएको तथा वडा नम्बर १४ र १५ मा झडपसमेत भएपछि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी स्थिति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक पातलीले बताए ।





