नेपालगञ्जमा फोहर विवाद आपसी समझदारीमा टुंगियो
मेराज सलमानी

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा न. ६ आँखा अस्पताल नजीक दुर्गा मूर्ति विसर्जनका क्रममा फोहर फाल्ने विषयमा उत्पन्न विवाद आपसी समझदारीमा टुंगिएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार विवादमा संलग्न व्यक्ति नियन्त्रणमा लिएर अनुसन्धान गरिएको थियो। अनुसन्धानपछि मानवीय संवेदनशीलता र सन्तुलनका आधारमा पीडित पक्षले माफी दिँदै कानुनी प्रक्रिया अगाडि नबढाउने निर्णय गरेको हो।
दुवै पक्षबीच मिलापत्र गरी आपसी मेलमिलाप भएको प्रहरीले जनाएको छ। विवादमा एक जना महिला र ६ महिनाको शिशु समेत संलग्न भएकाले मानवीय दृष्टिकोणबाट समाधान गरिएको बताइएको छ।
प्रहरीले सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमित रहन र भ्रामक सूचना नफैलाउन आग्रह गरेको छ। सूचना अधिकारी तथा डीएसपी दिपक पातली ले शान्ति, सद्भाव र सामाजिक सन्तुलनका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन्।






