बाँकेमा अनुमति बिना सभा,जुलुस र प्रदर्शन गर्न नपाइने

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले अनुमति विना कुनै पनि सभा, जुलुस, प्रदर्शन वा विरोध कार्यक्रम सञ्चालन गर्न नपाइने भएको छ।
सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले असोज १८ गते सम्पन्न सर्वपक्षीय बैठकको निर्णयअनुसार यो सूचना सार्वजनिक गरिएको प्रशासनले जनाएको छ।
प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, “जिल्ला प्रशासन कार्यालयबाट पूर्व स्वीकृति वा अनुमति प्राप्त नगरी कुनै पनि प्रकारका जुलुस, प्रदर्शन वा विरोध कार्यक्रम आयोजना गर्न पाइने छैन।”
त्यसको उल्लङ्घन गरी कार्यक्रम सञ्चालन गर्ने व्यक्तिले त्यसबाट उत्पन्न हुने सम्पूर्ण कानुनी जिम्मेवारी आफैंले वहन गर्नुपर्ने चेतावनी दिइएको छ।
जिल्ला प्रशासन कार्यालय बांकेका प्रशासकीय अधिकृत विष्णु साहनी द्वारा हस्ताक्षरित सूचनामा सामाजिक सद्भाभाव शान्ति र सुव्यवस्था कायम राख्न सबै पक्षलाई आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरिएको छ।







