१२ लाखबढी रकम र ५० किलोबढी चाँदीसहित ललितपुरबाट भारतीय पक्राउ
काठमाडौं । सशस्त्र प्रहरीले ५० किलोबढी चाँदीसहित एक जना भारतीयलाई बिहीबार दिउँसो सशस्त्र प्रहरीले पक्राउ गरेको छ । ललितपुर महागनरपालिका–१६ धौगलबाट पक्राउ पर्नेमा भारतको घोरसहन पूर्वी चम्पारण घर बताउने ३१ वर्षीय अभिषेख शेखलाई पक्राउ गरेको हो ।
भारतबाट अवैध रूपमा नेपाल ल्याई विभिन्न किसिमका चाँदीका गरगहना बेचबिखन गर्दै आइरहेको भन्ने सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गण ललितपुरले नियन्त्रणमा लिएका हुन ।
उनको साथबाट सशस्त्र प्रहरीले ५० किलो ७४ ग्राम चाँदीका गहना, १२ लाख ९१ हजार ९० नेपाली रुपैयाँ तथा १ हजार २ सय ७० भारतीय रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।
यस्तै चाँदी तौल गर्ने मेसिन १ थान, इलेक्ट्रिक साइकल १ थान, आइप्याड १ थान र मोबाइल सेट १ थान समेत बरामद गरेको छ । उनलाई बरामद सामनसहित थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको छ ।






