बाँकेमा ७०औं प्रहरी दिवस भव्य सम्पन्न
मेराज सलमानी

बाँके । “नागरिक प्रहरी सहकार्य: सुरक्षाको लागि अपरिहार्य” भन्ने मूल नाराका साथ ७०औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बाँकेले विशेष कार्यक्रम को आयोजना गरी सम्पन्न गरेको छ।
उक्त कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जि.सी. रहनुभएको थियो। कार्यक्रममा पूर्व प्रहरी, अमर प्रहरी परिवार लगायतका सम्माननीय अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रहरी नायब उपरिक्षक दिपक पातलीले प्रहरी महानिरीक्षकबाट प्राप्त शुभकामना सन्देश वाचन गर्नुभएको थियो। साथै, पूर्व प्रहरी कर्मचारीहरूको तर्फबाट पूर्व प्रहरी नायब उपरीक्षक शसिधर अधिकारी र अमर प्रहरी परिवारको तर्फबाट श्रीमती एकमाया विश्वकर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रमका सहभागीहरू र प्रमुख अतिथिले संयुक्त रूपमा अमर प्रहरी स्मारकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।
त्यस अवसरमा, ज्येष्ठ पूर्व प्रहरी तथा जग्गादाता व्यक्तिहरूलाई नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकबाट प्रदान गरिएको कदरपत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो। साथै, ७०औं प्रहरी दिवस–२०८२ को अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रमको समापन सत्रमा प्रमुख अतिथि एसपी अंगुर जि.सी.ले धन्यवाद ज्ञापन गर्दै अमर प्रहरीहरूप्रति श्रद्धाञ्जली, घाइते प्रहरी कर्मचारीहरूको स्वास्थ्यलाभको कामना, र पूर्व प्रहरी कर्मचारीहरूको योगदानप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो। उहाँले जस्तोसुकै परिस्थितिमा पनि समाजमा शान्ति र सुव्यवस्था कायम राख्न अहोरात्र खटिने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको थियो।






