राम्रो कार्यका लागि बाँकेमा प्रजिअको प्रसंशा
सर्वसाधारण नागरिकद्वारा बाँकेका प्रजिअलाई धन्यवाद ज्ञापन

नेपालगन्ज । सर्वसाधारण नागरिकले आज शुक्रवार जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
![]()
गृहमन्त्री ओमप्रकाश अर्याललाई बाँके जिल्ला प्रशासन कार्यालय मार्फत बुझाएको ज्ञापनपत्रमा भ्रष्टाचार नियन्त्रण, लागू औषध नियन्त्रण, यौन व्यवसाय नियन्त्रण, जुवा नियन्त्रण तथा धार्मिक सद्भाव कायम गर्न जिल्लास्तरमा गरिएको प्रशंसनीय कार्यका लागि धन्यवाद ज्ञापन गर्दै ज्ञापन-पत्र बुझाइएको हो ।

करिब २०० जनाको उपस्थितिमा बुझाइएको ज्ञापन-पत्रमा जिल्लामा पछिल्ला दिनहरूमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा निकायसंगको समन्वय र सक्रियतामा विभिन्न सामाजिक र प्रशासनिक सुधारका क्षेत्रमा उल्लेखनीय कार्यहरू सम्पन्न भएको उल्लेख गरिएको छ।
विशेषगरी भ्रष्टाचार नियन्त्रण, लागू औषध नियन्त्रण, यौन व्यवसाय नियन्त्रण, जुवा नियन्त्रण तथा धार्मिक सद्भाव कायम राख्ने कार्यहरू प्रभावकारी रूपमा जिल्ला प्रशासन कार्यालय बाँकेबाट सम्पन्न गर्दै आएको र प्रमुख जिल्ला अधिकारीको संयमित, निष्पक्ष र जनमुखी नेतृत्वले जिल्लाको शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण योगदान पुर्याएको ज्ञापनमा उल्लेख छ ।
बाँकेवासीको तर्फबाट बुझाएको ज्ञापनपत्र मार्फत गृह मन्त्रालयलाई जिल्लास्तरमा स्थानीय प्रशासन र सुरक्षा निकायबाट भएका सकारात्मक र अनुकरणीय कार्यहरूको निरन्तरताका लागि आवश्यक निर्देशन र प्रोत्साहन, सुरक्षा निकायसंगको समन्वय र परिचालनमा माहिर बाँकेको प्रमुख जिल्ला अधिकारीलाई थप हौसला, भ्रष्टाचार, लागूऔषध, यौन व्यवसाय, जुवा तथा तस्करी नियन्त्रणका प्रयासहरूलाई राष्ट्रिय प्राथमिकतामा राखेर कार्य सम्पादन र धार्मिक सद्भाव र सामाजिक एकताको सुदृढीकरणका लागि मन्त्रालयको तर्फबाट नीति तथा कार्यक्रमहरूलाई स्थानीय तहमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गरिएको छ ।
ज्ञापन पत्रमा जिल्ला प्रशासन कार्यालय बाँकेको इमानदार प्रयास र गृह मन्त्रालयको निरन्तर मार्गदर्शनका लागि धन्यवादका साथै आगामी दिनमा पनि यस्ता जनमुखी प्रशासनिक गतिविधिहरूलाई निरन्तरता दिन माग गरिएको छ ।





