लागुऔषधको अखाडा बन्दैछ नेपालगञ्ज
बाँकेमा दैनिक पक्राउ, प्रहरीको कडाइ जारी

मेराज सलमानी
नेपालगन्ज । पछिल्लो समय बाँके जिल्लामा विशेषगरी नेपालगञ्ज सहर लागुऔषध कारोबार र दुव्र्यसनको केन्द्र बन्दै गएको छ। दैनिक रूपमा प्रहरीले लागुऔषध कारोबारमा संलग्न व्यक्ति तथा प्रयोगकर्ता माथि कारबाही गरिरहेको छ, तर समस्या भने झन् गहिरिँदै गएको देखिन्छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार लागुऔषध नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिएको छ। पछिल्ला दिनमा ब्राउन सुगरदेखि लिएर प्रतिबन्धित औषधिसम्म बरामद हुँदै आएका छन्।
प्रहरीले भारतबाट प्रतिबन्धित औषधि ल्याउँदै गरेका एक जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार नेपालगञ्ज–१५ जमुनाहा चेकपोस्टमा खटिएको टोलीले कैलाली लम्किचुहा नगरपालिका–९ का दिनेश रेमी (३९ वर्ष) लाई पक्राउ गरेको हो।
उनको साथबाट एफिल २५ एमजीका ८ पत्ता (८०० ट्याब्लेट) र एफिल ५० एमजीका ८ पत्ता (८०० ट्याब्लेट) गरी जम्मा १,६०० ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद औषधि आवश्यक कानुनी कारबाहीका लागि औषधि व्यवस्था विभाग नेपालगञ्ज, बाँके पठाइएको छ।
प्रहरीको भनाई : जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारीहरूले जनाएका छन् । “लागुऔषध कारोबार र प्रयोग नियन्त्रण हाम्रो प्राथमिकता हो। हरेक सूचनामा प्रहरी टोली सक्रिय रूपमा खटिन्छ।” प्रहरीले स्थानीय समुदायलाई पनि लागुऔषध नियन्त्रणमा सहयोग गर्न र सूचना दिन आग्रह गरेको छ।
बढ्दो चुनौती : नेपालगञ्ज भारतसँग सिमाना जोडिएको सहर भएकाले लागुऔषध तथा प्रतिबन्धित औषधिको अवैध निकासी–पसेसी नियन्त्रणमा कठिनाइ देखिएको प्रहरीको भनाइ छ। तर निरन्तर चेकजाँच, गस्ती र निगरानीमार्फत प्रहरीको प्रयास जारी रहेको जनाएको छ।







