महासंघ बाँकेद्वारा पत्रकारहरूलाई नैतिक र मर्यादित कार्य गर्न आह्वान

मेराज सलमानी
नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले पत्रकारहरूलाई नैतिक, जिम्मेवार र मर्यादित पत्रकारिता गर्न आह्वान गरेको छ।
शाखाको कार्यसमिति बैठक कात्तिक १६ गते आइतबार अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बसेर पछिल्लो समय पत्रकारिताको सिद्धान्त विपरीत भइरहेका मनोमानी र अभद्र गतिविधिहरूप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्तो निर्णय गरेको हो।
बैठकले पत्रकारिता आचारसंहिताको उल्लङ्घन हुने गरी भइरहेका कार्यहरू रोक्न सबै सदस्य तथा क्रियाशील पत्रकारहरूलाई सचेत रहन आग्रह गरेको छ। साथै, सामाजिक सञ्जालको विवेकपूर्ण प्रयोग गर्न समेत सबै पत्रकारलाई आह्वान गरिएको छ।
यसैगरी, महासंघ बाँके शाखाको एभरेष्ट बैंक नेपालगञ्ज शाखामा रहेको मौज्दात रकम दुई वर्षका लागि मुद्दती निक्षेपमा राख्ने निर्णय पनि बैठकले गरेको छ।





